काठमाडौ २२ असोज । इंग्लिस क्लब लिभरपुलको प्रशिक्षकमा जर्मन क्लब बोरुसिया डर्टमुण्डका पूर्व प्रशिक्षक जर्गेन क्लोप नियुक्त भएको छ ।
गत आइतबार ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको लिभरपुलले क्लोपलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
क्लोपले लिभरपुलसँग एक करोड ५० लाख पाउण्ड स्टर्लिङमा तीन वर्षको सम्झौता गरेका हुन् । लिभरपुललाई प्रिमियर लिगको उपाधि वा च्याम्पियन्स लिगमा छनौट गराउन सके उनको आम्दानी वर्षको ७० लाख पाउन्ड स्टर्लिङ पुग्नेछ ।
गत मेमा बोरुसिया डर्टमुण्डको सात वर्षे कार्यकालबाट बिदा भएका क्लोप पाँच महिनापछि लिभरपुलको प्रशिक्षकको रुपमा काममा फर्किने भएका छन् । यो सिजन खराब प्रदर्शन गरेको लिभरपुलले क्लोपको प्रशिक्षणमा सुधार गर्ने अपेक्षा गरेको छ ।
लिभरपुलले यो सिजनका अहिलेसम्म भएका सबै प्रतियोगिताका ११ खेलमा चार वटामा मात्रै जित हात पारेको छ । प्रिमियर लिगको ८ खेल सकिँदा लिभरपुल १२ अंक सहित तालिकाको १० औं स्थानमा छ ।