काठमाडौँ, २१ असोज । नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग गर्न आज प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई औपचारिक आग्रह गरेको छ ।
एमालेका अध्यक्ष ओलीसहितको उच्चस्तरीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटी कोइरालालाई सो आग्रहसहितको पत्र बुझाएको हो । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो ।
भेटपछि अध्यक्ष ओलीले विगतमा संविधान निर्माण गर्न प्रमुख दलमा गरिएको एकता, सहकार्य र सद्भावनाको मूल्याङ्कन गर्दै भावी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरिएको बताउनुभयो । उहाँले जवाफमा प्रधानमन्त्री कोइरालाले आफूले भद्र सहमतिअनुसार सहयोग गर्छु भन्दै आएको तर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि आधिकारिक जवाफ दिने बताउनुभएको थियो । अध्यक्ष ओलीले भूकम्पपछिको पुनः निर्माण, नयाँ संविधान कार्यान्वयनका लागि सहमतिका आधारमा विभिन्न कानुनको निर्माण र कार्यान्वयनका लागि प्रमुख दलसँगै हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो ।
पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफू सहमतिको सरकार गठनका लागि सकारात्मक रहेको र विगतको सहमतिलाई पनि ध्यानमा राखेको तर पार्टीले समर्थन गर्ने नगर्ने भन्नेबारेमा केन्द्रीय कमिटीको जारी बैठकले संस्थागत निर्णय गरेपछि स्पष्ट हुने बताउनुभयो ।
भेटमा अध्यक्ष ओलीका साथ एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव प्रदीप ज्ञवालीसहितका नेता सहभागी हुनुहुन्थ्यो ।