करिब सय वर्ष पहिले मात्रैको कुरा हो बिश्वकै सर्वाधिक धनी जोन रकफिलरले आफ्नो पुरै सम्पति लगाएर पनि एउटा मोवाइल किन्न सकिने स्थिति थिएन । अहिले यो मोबाइल सामान्य भन्दा पनि सामान्यको हातमा छ । भनिन्छ इङल्याण्डका राजा हेनरी सित पुरै इङल्याण्डको भन्दा २-३ गुना बढी सम्पति थियो । तर पनि शक्तिशाली अति सम्पन्न राजा सित न त अहिलेको जस्तो घरभित्रै हुने पानीबन्द चर्पी (फ्लसिङ सिस्टर्न) थियो न त वातानुकुलित कोठा नै । त्यसैगरि उन्नाइसौं शताव्दीको पुर्वार्धतिर विश्वकै सबैभन्दा धनि ब्यक्ति नाथन रोथचाइल्ड पिलो को उपचार गर्न नसकेर मरे । अहिले जहाँ पनि २-३सय रुपियामै पाइने एन्टिबायोटिक ट्युव नपाएर बिश्वकै धनाढ्य ब्यक्तिको ज्यान गएको कुरा अहिलको पुस्तालाइ किंवदन्दी झै लाग्छ । सन् १९५१ मा काठमाण्डौंबाट पोखरा पुग्न टोनी हागनलाइ १० दिन लागेको थियो । तर अहिले हाम्रो जीवन हाम्रा पुर्खाहरुको जीवनको तुलनामा धेरै आधुनिक र सहज छ । यी सबै कुरा विज्ञान र प्रविधीमा भएको बिकासले गर्दा मात्र सम्भव भएको हो । अहिले विज्ञान र प्रविधी मानव समाजको अभिन्न अंग बनेको छ ।
मानव बिकासक्रमको इतिहास प्रविधी बिकासको इतिहास संग जोडीएको छ । मानव मात्रै त्यस्तो प्राणी हो जसले आफ्नो अस्तित्व जोगाउनको लागि औजार (टुल्स) को प्रयोग गर्यो । मानव जातीका पूर्खा ‘ह्यान्डी म्यान’ देखि नै ढुंगाका औजारहरु प्रयोग गरेको पाइन्छ । प्राग-ऐतिहासिक अवधीभर (करिब २० लाख वर्ष पहिले देखि करिब १२ हजार वर्ष पहिले सम्म) विज्ञानको कुनै पनि अस्तित्व रहेको पाइदैन । तर सो अवधिमा ढुंगाका औजार र विभिन्न हतियारहरुको उपलब्धताले प्रविधीको बिकास भएको यथेष्ट प्रमाण दिन्छ । बिसौं शताव्दीपूर्व सम्म पनि प्रविधी र विज्ञान लगभग पूर्णरुपमै अलग-अलग रुपमा बिकसित भएको पाइन्छ । मानवले विज्ञान तथा प्रविधीको बिकास र उपयोगमा महत्वपूर्ण सफलता पाएको भनेको बिसौं शताव्दीमा आएर मात्रै हो । पहिलो विश्वयुद्धसम्म पनि वैज्ञानीकहरुको कुनै महत्व थिएन । युद्ध लडाकुहरुसंगै कैयौं वैज्ञानीकहरु पनि खाल्डोमै पुरीएर मरे । दोस्रो विश्वयुद्ध पछी मात्रै मानव समाजले वैज्ञानीकहरुको महत्व थाहा पायो । वैज्ञानीकहरुले गरेको सैद्धान्तिक खोज र अनुसन्धान विशेष गरि कृषि, उद्योग, चिकित्सा क्षेत्र र आणविक हतियारमा उपयोगी सिद्ध भएपछी उनीहरुलाइ राज्य र समाजले हेर्ने दृष्टीकोणमा पनि परिवर्तन आयो । विज्ञानले व्यवहारिक जीवनका कैयौ जटिल कुराहरुलाइ सरल तुल्याइदियो । विज्ञानले बिकास गरेको सैद्धान्तिक ज्ञानले प्रविधीको बिकास र प्रयोगमा पनि यति धेरै बृद्धि भयो कि ‘प्रविधी भनेकै विज्ञानको व्यवहारिक उपयोग हो’ भनेर परिभाषित गर्न थालियो । अहिले आएर त प्रविधी र विज्ञान एक आपसमा यसरि ‘फ्युजन’ भएका छन् की दुबैलाइ छुट्याउनै नसकिने अवस्था छ ।
इतिहासले देखाएको छ, जुन जुन देशहरुले विज्ञान र प्रबिधीको प्रयोग र बिकास छिटो छिटो गरे ति राष्ट्रहरु समृद्ध हुदै गए भने प्रविधीको प्रयोग नगर्ने देशहरु गरिब हुदै गए । नेपाल गरिब हुनुको मुख्य कारण पनि विज्ञान र प्रविधीको बिकास र प्रयोगमा पछाडी पर्नु नै हो । यो क्षेत्रमा यूरोप अमेरिकाको त कुरै छोडौं हामी हाम्रै उत्तर र दक्षिणका छिमेकीहरुभन्दा पनि सय वर्ष पछाडी छौं । भलै देशमा प्रविधी भित्र्याउने सवालमा भने हामी अहिलेका समृद्ध धेरै देशहरुभन्दा अगाडी नै थियौं । अहिलेको युग विज्ञान र प्रविधीको युग हो । यसले प्रत्येक ब्यक्तिलाइ बिश्वव्यापी रुपमा आफ्नो परिचय आफै बनाउन र प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराइदिएको छ । तर नेपालमा भने अझै पनि विज्ञान र प्रविधीले फस्टाउन पाउने सामाजिक-राजनीतिक आधार् /वातावरण तयार हुन सकेको छैन । वास्तवमै भन्ने हो भने हामीले जानी जानी यो आधार तयार पार्न खोजेका छैनौ । इतिहासदेखि कै घटनाक्रमहरुले यो कुरालाइ प्रमाणित गरिरहेका छन् । पृथ्वीनारायण शाहले एकिकृत नेपालको शासन सम्हाले लगत्तै फिरंगिहरुलाइ देश निकाला गरे । साथै बाहिरी औपनिबेसिक शक्तिहरुले देशलाइ कब्जा गर्लान् की भन्ने त्राशमा उनले नेपाललाइ बाँकी बिश्वबाट पूर्ण रुपमा अलग्याए । यसको फलस्वरुप यूरोपमा औध्योगिक क्रान्तिमार्फत सृजित उत्पादन र प्रविधीहरु नत फिरंगीहरुमार्फत नेपाल भित्रिन सक्ने अवस्था रह्यो नत नेपाल आफैले भित्र्याउन सक्ने सम्भावना रह्यो । नेपालले यूरोपमा भएको औद्योगिक क्रान्तिको केही चालै पाउन सकेन । त्यतिबेला यूरोपमा पनि सामन्ति शासन व्यवस्था नै थियो तर पनि त्यहाँ गुणस्तरिय शैक्षिक संस्था का साथ साथै खोज-अनुसन्धानमा आधारित विज्ञान तथा प्रविधी संग सम्बन्धित थुप्रै संस्थाहरुको स्थापना भैसकेको थियो । एघारौं बाह्रौं शताव्दीतिर जब नेपालमा शंकराचार्यले बौद्ध परम्परामा आधारित शिक्षण संस्थाहरुलाइ ध्वस्त पारेर हिन्दु परम्परामा आधारित गुरुकुल प्रणाली स्थापना गर्दै थिए त्यति बेला यूरोपमा अक्सफोर्ड विश्वविद्यालय स्थापना भैसकेको थियो । पन्ध्रौं शताव्दीमा काठमाण्डौंमा यक्ष मल्लले राज्य संचालन शुरु गर्दा सम्म उनका समकालीन लियोनार्दोदा भिन्जीले यूरोपमा ‘सेन्ट्रिफ्युगल’ पम्प, नहर खन्ने ड्रेजर लगायतका मेसिनरी औजारहरुको आविस्कार गरिसकेका थिए । पृथ्वीनारायण शाहले पजनी प्रथामा आधारित प्रशासनको शुरुवात गर्ने बेलासम्म जेम्सवाटले अतिकम ‘एफिसेन्सि’ भएका न्यूकमन इन्जिनहरुलाइ सुधार गरेर स्टिम इन्जिनको कमर्सियल ब्यापार शुरु गरिसकेका थिए ।
नेपालमा प्रविधी र विज्ञानको बिकास र प्रयोग हुन नसक्नुमा हामीमा गढेर बसेको अन्धविश्वास, कुरिति, र पुरातनवादी सोचको पनि ठूलो भूमिका रहेको छ । नेपालका ‘नेपोलियन बोनापार्ट’ भनेर चिनिने जंगबहादुर स्वयं कति रुढीवादी थिए भने समुद्रको पानी छोयो भने वा समुद्र पार गर्ने मानिस अशुद्ध हुने त्यो बेलाको धार्मिक अन्धबिश्वासको कारण उनी यूरोप भ्रमणबाट फर्कने बेला भारतको रामेश्वरम् को तिर्थाटन गर्दै फर्के । जंगबहादुर नेपालका यस्ता भाग्यमानी शासक थिए जसले यूरोपमा भएको औधोगिक क्रान्तिको पहिलो अन्तर्राष्ट्रीय प्रदर्शनी हेर्ने अवसर पाएका थिए सन् १८५१ मा । लमजुङ र कास्कीका महाराज समेत रहेका उनले त्यहाँबाट फर्केने बेला फेवातालको पानी तानेर पोखराको फाँटमा सिचाइ गर्ने भनेर एउटा पम्प पनि ल्याएका थिए । तर सो पम्पलाइ जोड्न र संचालन गर्न ‘फिरंगी प्राविधिक’ नै चाहिने भयो । त्यतिवेलासम्म पनि फिरंगीलाइ हाम्रो देशमा प्रवेश निशेधै थियो । जंगबहादुरले चाहेका भए फिरंगी प्राविधिकलाइ त बोलाउन सक्थे तर हाम्रो समाजमा ‘फिरंगीले छोएको पानी अशुद्ध हुने र सो पानीले उब्जेको अन्न पनि अशुद्ध हुने’ मान्यता ले जरो गाडेर बसेकोले त्यसका बिरुद्ध जाने हिम्मत गर्ने सकेनन् र सो पम्प त्यसै खिया लागेर सकियो । त्यसपछी पोखराले आधुनिक सिचाइ सुविधा पाउन एक शताव्दी नै कुर्नु पर्यो । बिजयपूर नहर भारतीय सहयोगमा सन् १९५० ताका मात्र शुरु भएको थियो । जंगबहादुरले चाहेका भए समाजमा भएका यस्ता अन्धविश्वास र कुरिति हटाउन सक्थे तर उनी आफै यसका शिकार भए । झन यूरोपबाट फर्केपछी उनले सन् १८५४ मा जातमा आधारित श्रम विभाजनलाइ मुलुकी ऐन मार्फत कानुनी मान्यता दिए । जातमा आधारित श्रम बिभाजन हाम्रो पछौटेपनको मुख्य कारण हो । यसले श्रमको गतिशिलता र प्रविधीको बिकासको लागि आवश्यक पर्ने प्रतिस्पर्धा र सामाजिक-आर्थिक आधार बिकसित हुनबाट रोकिदियो ।
हिन्दु धर्मको नाममा भित्र्याइएको यो बिकृतिका बिरुद्ध लड्न सक्ने शाहस न त पृथ्वीनारायण शाहमा देखियो न त जंगबहादुरमा नै । यसलाइ श्रमको बिशिष्टिकरण भने पनि यसले गर्दा श्रम गर्ने भनेकै ‘नीच जातको’ मान्छेले हो भन्ने भावना को विकास हुदै गयो । जसले जति कम श्रम गर्यो उ उति नै बढी ‘ठुलो र सम्मानित’ हुने अवस्था आयो । यूरोपमा
नेपोलियन बोनापार्ट सामान्य सैनिकबाट ‘विश्व सम्राट’ बन्ने अवस्था थियो भने नेपालमा सामान्य वा गरिव नागरिकले यस्तो कल्पना मात्र गर्नु पनि पाप मानिन्थ्यो । यहि समयमा हिन्दु धर्मका नाममा फैलाइएका कुरितिहरुलाइ हटाउनको लागि भारतमा रामकृष्ण परमहंस र जातीप्रथाको कट्टर बिरोध गर्न दयानन्द सरस्वतीले ‘आर्य समाज’ गठन मार्फत जनचेतना फैलाउने अभियान चलाए । नेपालमा भने राणाहरुले आर्य समाजका एकजना सदस्य शुक्रराज शास्त्रीलाइ फाँसी दिए ।
भारतमा इस्ट इन्डिया कम्पनिले सन् १८५० को दशकमै हरिद्वारमा १९औं शताव्दीकै ठुलो मानव निर्मित संरचना ‘गंगा नहर’ को निर्माणको लागि माटो बोक्न रेलवेको प्रयोग गरेका थिए। तर नेपालमा भने राणाहरुले सन् १९५० सम्म अर्थात एक शताव्दी पछाडीसम्म पनि आफु चढ्ने जिप भिमफेदीबाट काठमाण्डौं ३० देखि ६५ जना गरिब नेपालीको काँधमा महिनौं लगाएर बोक्न लगाइरहेका थिए । त्रिभुवन राजपथ सन् १९५६ मा मात्र तयार भयो । ब्रिटिसहरु सित घनिष्ट सम्बन्ध भएका राणाहरुलाइ सडक बनाउनुपर्छ भन्ने ज्ञानको अभावमा यस्तो गरेका थिएनन् । बिकास भयो भने उनीहरुको राजकीय शक्ति र सत्तामा गरेको मोजमस्ति धरापमा पर्छ भन्ने कुरा उनीहरुलाइ राम्रोसित थाहा थियो । त्यसैले उनीहरुले नेपालमा मोटरगाडी भित्र्याए पनि त्यो यूरोपमा जस्तो औद्योगिक सामानहरुको ओसारपसार र जनताको यातायातको सुविधाको लागि थिएन, राणा महाराजहरुको मन्दिरमा पूजा गर्न जादा चढ्ने बिलासी साधनको रुपमा मात्र प्रयोगमा थियो । भारतमा ब्रिटिसहरुले सन् १८५० को दशकमै शुरु गरेको ‘रिभर इन्जिनियरिगं’ र सिचाइको लागि नहर बिकास गर्ने कार्य महाराज चन्द्र शमसेर र जुद्ध शमसेरले पनि शुरु गरे चन्द्र नहर र जुद्ध नहर (हालको मनुष्मारा) मार्फत तर असि-नब्बे वर्ष पछाडी मात्रै । झन सर्वसाधारणमा त यो बिषयले सन् १९६० को दशकमा भएका कोसी र गण्डक सम्झौता पछी मात्रै प्रवेश पायो ।
जंगबहादुर पछी यूरोपको प्रविधीमा भएको बिकास र यसले ल्याएको समृद्धी देख्न पाउने भाग्यवानी शासक थिए श्री ३ महाराज चन्द्र शमसेर राणा। उनले आफ्ना दाजु देवशमसेरलाइ जनताप्रति देखाएको उदारता र उनले गरेका केही परिवर्तन प्रति क्रुद्ध हुदै सत्ताच्यूत गरि सत्ता आफ्नो हातमा लिएका थिए । तर सन् १९०८ मा बेलायतबाट फर्केपछी ‘हामी त धेरै पिछडिएका रहेछौं’ भन्दै केही सुधारका कार्यहरु गर्ने प्रयासहरु गरे । उनले सन् १९११ ( बि.स. १९६८ जेठ २३ गते) मा ५०० किलोवाटको चन्द्रज्योति जलविद्युत आयोजना (हालको फर्पिङ जलविद्युत आयोजना) को उदघाटन गरेका थिए । यो आयोजना क्षमताको हिसावले एसियाकै सबैभन्दा ठुलो आयोजना थियो भने समयको हिसाबले दोस्रो आयोजना थियो । यो भन्दा पहिले ‘सिद्रपोङ हाइडेल पावर स्टेसन (१३० किलोवाट)’ भारतको दार्जिलिङमा सन् १८९७ मै स्थापना भैसकेको थियो । चीनले हामीभन्दा एक वर्ष पछाडी सन् १९१२ मा मात्रै २४० किलोवाटको सिलोङवा जलविद्युत आयोजना स्थापना गरेको थियो । अहिले १०४ वर्ष पछी चीनले ३ लाख मेगावाट भन्दा बढी, भारतले ४०,००० मेगावाट भन्दा बढी जलविद्युत उत्पादन गरेको छ भने हाम्रो भागमा भने दिनको १८ घण्टा सम्मको लोडसेडिङ परेको छ । निकोला टेस्लाले अमेरिकामा ‘एसी इन्डक्सन मोटर’ को आविस्कार मार्फत विजुलिलाइ उत्पादन केन्द्रबाट टाढा-टाढा सम्म तारबाट पठाउन सकिने कुराको ‘पेटेन्ट राइट’ गरेको दुइ दशकभित्रै नेपालले फर्पिङबाट बिजुली काठमाण्डौ दरबार सम्म ट्रान्समिट गर्ने सकेका थिए । यो हिसाबले यो धेरै ठूलो सफलता हो । तर दुर्भाग्य नै मान्नुपर्छ यो प्रविधी हामीकहाँ ‘आवश्यता र देश बिकास गर्ने हुटहुटीले’ भन्दा पनि राणाहरुको शानसौकत, धाक रवाफ र दरवारमा उज्यालो गर्ने हिसाबले मात्रै भित्रिएको थियो । उद्योग कलकारखाना संचालन गर्ने, रोजगारी सृजना गर्ने, उत्पादन बृद्धी गर्ने र आर्थिक समृद्दी हासिल गर्ने कुरासित यसको कुनै साइनो थिएन । चन्द्र समसेरले चन्द्रज्योति जलविद्युत आयोजनाको उदघाटन गर्दा ‘एसबाट हाम्रा मुलुक्को उद्योग उत्साहमा नञा युग हुनगया झै उन्नती गराउने होला भनन्या आशा छ’ भने पनि त्यो आशा अझै पुरा हुन सकेको छैन । पञ्चायतकाल भरि विद्युत प्राधिकरणको ‘एकलौटी मनपरि’, अत्यधिक परनिर्भरता, छिमेकी देशको असहयोग को शिकार भइयो भने अहिले आएर प्रजातन्त्र र गणतान्त्रिक समयावधिमा अत्यधिक राजनीति र विद्युत उत्पादनको लागि भनेर बितरण
गरिएको ‘लाइसेन्स क्रान्ति’ को शिकार भइयो । चन्द्र समसेरले नै भित्र्याएका रोपवे र रेलवेले पनि नेपाली समाजको
आर्थिक-सामाजिक संरचनाको बिकासमा टेवा पुर्याउन सकेनन् । जनताको अगाडी उदार देखिन र ब्रिटीस भारतीयहरुले खिसिटिउरी गर्लान कि भन्ने डरले मात्र राणाहरुले यस्ता कार्यहरु गरेको प्रष्ट हुन्छ । हामीलाइ उपयुक्त हुने प्रविधीको प्रयोग र बिस्तार राणाहरु मात्र हैन त्यसपछीका शासनब्यबस्थामा पनि हुन सकेन ।
आजकल निर्माण कार्यमा सर्वाधिक प्रयोग हुने रेन्फोर्स्ड सिमेन्ट कन्क्रिट (आर. सि. सि.) को नेपाल आगमन सम्वन्धी प्रसंग पनि रोचक छ । क्वाइग्नेटले सन् १८५२ मा आर. सि. सि. बाट आफ्नो घर निर्माण गरेका थिए तर नेपालमा भने यो प्रविधी सन् १९४६ तिर मात्रै भित्रियो । नेपालमा बि.स. २००२ सालमा आर.सि.सि. कन्क्रिटद्वारा निर्माण गर्ने प्रविधी सर्वप्रथम ई. बेदप्रकास लोहनी (राप्रपा नेता प्रकासचन्द्र लोहनीका बुवा) ले भित्र्याएका थिए । त्रिचन्द्र क्याम्पसको सरस्वती सदनको ७ फिट लामो क्यान्टिलिभर बरण्डा नै आर.सि.सि. कन्क्रिटद्वारा निर्मित नेपालको सबैभन्दा पहिलो संरचना हो । पहिलो चोटी यो निर्माण भएपछी भत्किएर थिचिएर मरिन्छ की भन्ने डरले मानिसहरु सो बरण्डाको मुनिबाट हिड्नै छोडेपछी केही ब्यक्तिहरुलाइ पैसा दिएर बरण्डामा बस्न लगाएर भत्किदैन भन्ने कुराको ग्यारेण्डी गरेपछी मात्र मान्छेहरु बरण्डामुनिबाट हिड्न थालेका थिए भनेर पुल्चोक क्याम्पसमा बेदप्रकास लोहनी पुरुस्कार स्थापना गरेको दिन गरेको प्रस्तुतिकरणमा यो पङतिकारले सुनेको थियो । अहिले आर. सि. सि. को प्रयोग घर निर्माण देखि बिकास निर्माणका काममा जहाँ पनि अत्यधिक रुपमा हुने गरेको छ । नेपालका ठूला जलविद्युत, सिचाइ र पुल निर्माणका काममा बर्षेनि लाखौं टन आर. सि. सि. को कार्य हुन्छ तर पनि यसमा प्रयोग हुने छडको रासायनिक परिक्षण गर्ने प्रयोगशाला हामीसित अझै हुन सकेको छैन । यस्तो प्रयोगशालाको अभावमा बिकास निर्माणका कामहरुमा थुप्रै समस्याहरु आएका छन् ।
सन् १९५१ मा राणाशासनको अन्त्यपछी नेपाल आधुनिक युगमा प्रवेश गरेको मानिन्छ । त्यो बेलादेखि हालसम्मको अवधीसम्म पनि नेपालले थुप्रै प्रविधीहरु आयात गरेको छ र ठुलो धनराशी पनि खर्च गरेको छ तर त्यसको बिकास र
प्रबर्धन गर्न भने त्यति चासो दिएको पाइदैन । विज्ञान र प्रविधीलाइ अँगाल्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक
वातावरण तयार पार्न सकिएको छैन । विज्ञान र प्रविधीको बिकासमा महत्वपूर्ण योगदान दिनसक्ने विश्वविद्यालयहरु,
स्कूलहरु, सरकारी तथा गैर-सरकारी वैज्ञानिक संस्थाहरुको अवस्था दयनीय छ । सन् १९१८ मा खुलेको त्रिचन्द्र क्याम्पस र सन् १९५९ मा खुलेको त्रिभुवन विश्वविद्यालयको अवस्था हेरेर मात्रै पनि हाम्रो अवस्था स्पष्ट हुन्छ ।
त्रिभुवन बिश्वविद्यालय भन्दा २७ वर्ष पछाडी स्थापना भएको दक्षिण कोरियाको ‘पोहाङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी र १२ वर्ष पछाडी स्थापना भएको दक्षिण कोरियाकै ‘कोरिया एडभान्स्ड इन्सिटिट्युट अफ साइन्स एन्ड टेक्नोलजी’ टाइमको बिश्वका ५० वर्षमूनिका सर्वोत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । हाम्रो विश्वविद्यालयले अझै सम्म पनि आफ्नो प्राज्ञ आफै चुन्न सक्दैन । राजनीतिक भागबन्डाको आधारमा उप-कूलपति, रजिष्टार, डिन आदी नियुक्त हुन्छन् । प्रोफेसर हुन खोज अनुसन्धान होइन राजनीतिक नेताहरुको आशिर्वाद भए पुग्छ । विज्ञान र प्रविधीले हाँकेको समाजमा यी कुराहरु किमार्थ पाच्य हुदैनन् । कृषि प्रधान देशमा कृषि सम्बन्धी खोज-अनुसन्धान गर्ने ‘नार्क’ जस्ता सरकारी संस्थाहरुमा काम गर्ने वैज्ञानिक भेटिदैनन् । देशमा विज्ञान र प्रविधीको बिकास र सम्बर्द्धन गर्ने भनि स्थापना भएका ‘नास्ट’ जस्ता संस्थाहरु पनि राजनीतिक भागबन्डाको शिकार भएका छन् । बैज्ञानिक हुन समेत राजनैतिक दलका नेताहरुको मुख ताक्नु पर्ने परम्परा नेपाल बाहेक संसारमा अन्त कहि छैन । हाम्रो जस्तो देशमा विज्ञान तथा प्रबिधी मन्त्रालय सबैभन्दा आकर्षक हुनुपर्नेमा यही मन्त्रालयको अवस्था सबैभन्दा दयनीय छ । बिचरा विज्ञान तथा प्रबिधी मन्त्रालयलाइ कहिले ‘जनसंख्याले’ माथ गर्यो कहिले ‘वातावरणले’ । यसलाइ आफ्नो अलग्गै पहिचान बनाउनै दिएनौ ।
केही दिन अगाडी मन्त्रिपरिषदको बैठकले यसको प्रविधीलाइ झिकेर अन्तै जोड्ने निर्णय गरेको छ । अहिलेको यूगमा पनि विज्ञान बिनाको प्रविधी र प्रविधी बिनाको विज्ञान पनि अगाडी बढ्न सक्छ र ? सोच्ने बेला भएन र अझै ?