काठमाडौं, २० असोज ।
बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता भएको छ ।
स्पेनका सरकारी वकीलले अर्जेन्टिनाका मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिइएको र अब उनका बुबा जर्जमाथि कर छलिको मुद्दा दायर गर्नेे बताएका छन् ।
मेस्सीका वकिलले मेस्सीसँग आफ्नो आम्दानीको कर तिरिएको छ कि छैन भनेर अध्ययन गर्ने समय नभएको र नियतबस नभइ व्यस्तताको कारणले समयमा कर तिर्न नसकेको बताएपछि सरकारी वकिलले उनमाथि लागेको आरोप फिर्ता लिने निर्णय गरेका हुन् । आरोप प्रमाणित भए १८ महिना जेल सजाय तथा २२ लाख अमेरिकी डलर जरिवाना तिर्नु पर्ने प्रावधान थियो ।
अब छोराको आम्दानीको कर तिर्न आनाकानी गरेको आरोपमा मेस्सीका बुबामाथि कर छलिको मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
आफ्नो आम्दानीको व्यवस्थापन बुबाले गर्ने भएकाले आफूलाई यसबारेमा केही थाहा नभएको बताउँदै आएका पनि गत जुनमा बार्सिलोना उच्च अदालतले आफ्नो आम्दानीको व्यवस्थापनका विषयमा आफूलाई थाहा नभएको भनेर मेस्सी उम्किन नपाउने फैसला सुनाएको थियो ।