काठमाडौँ, १९ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको राष्ट्रिय लिग फुुटबल प्रतियोगिताअन्र्गत आज भएको खेलमा नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा भएको सो प्रतियोगितामा प्रहरी र मोफसलको टोली मोरङबीच १–१ गोलको बराबरीमा टुङ्गिएको हो ।
प्रतियोगितामा पहिलो अग्रता भने प्रहरीले लियो । खेलको ७७औँ मिनेटमा योगेश श्रेष्ठले गोल गर्दै प्रहरीका लागि पहिलो अग्रता दिलाए । तर त्यो १–० को अग्रता खेलको निर्धारित समयसम्म टिकेता पनि दोस्रो हाफको अतिरिक्त समयलाई जोजाउन नसक्दा प्रहरीले मोरङसँग अङ्क बाड्न बाध्य बन्नुप¥यो ।
मोरङका खेलाडी निरज बस्नेतले दोस्रो हाफको अतिरिक्त समयमा एक गोल फर्काए पछि खेल १–१ गोलको बराबरीमा टुङ्गिन पुग्यो । चार मिनेट थपिएको अतिरिक्त समयमा बस्नेते तेस्रो मिनेटमा (९० प्लस ३) गोल गरेका थिए ।
यस बराबरी खेलसँगै प्रहरीले १३ अङ्क जोडेको छ भने मोरङको सात अङ्क भएको छ । प्रहरी लिगको सातौँ स्थानमा यथावत छ भने मोरङ पनि लिगको अन्तिम स्थानमा यथावत नै छ ।
त्यस्तै थ्रीस्टार क्लब २६ अङ्क जोड्दै लिगको पहिलो स्थानमा छ भने आर्मी २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै २४ अङ्क नै बटुलेको मोफसलको टोली झापा फुटबल क्लब गोलअन्तरका आधारमा लिगको तेस्रो स्थानमा छ ।
भोलि बुधबार मनाङ मस्र्याङ्दी क्लबले झापा फुटबल क्लबको सामना गर्नेछ ।