काठमाडौँ, १९ असोज । पूर्वाञ्चलमा यही वर्ष हुने सातौँ राष्ट्रिय खेलकुदका लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिवसमेत रहनुभएका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा आज बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य तथा राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनु भयो ।
उहाँका अनुसार टङ्क उप्रेतीले तयार पारेको गीत छनोट गरिनुको साथै ‘पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद, विविधतामा रमाएर बाचौँ’ भन्ने नारालाई पारित गरिएको छ ।
बैठकले सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी र शारीरिक सुगठनको दुबै प्रतियोगिता सातदोबाटोमा गर्ने निर्णय गरेको छ । पौडी असोज २३ गतेदेखि २५ सम्म तथा शारीरिक सुगठन असोज २२ गतेदेखि २३ सम्मलाई तोकिएको छ ।