असोज १९ सल्यान
केहि दिन अगाडि घोषणा भएको सल्यान बागचौर नगरपालिकाले आजदेखि सेवा सुचारु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले नगरपालिकाको उद्घाटन गरेका छन ।
नगरपालिकाको लागि सल्यान जिल्लाका थारमारे, शिवरथ, कोटबारा, कोटमौला र पिपलनेटा गाविसलाई गाभिएको छ । ति सबै गाविसको मध्य भागमा पर्ने बागचौरलाई केन्द्र विन्दु बनाई बागचौर नगरपालिकाको नाममा केहिदिन अगाडि नगरपालिका घोषणा गरिएको थियो ।बागचौर नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा यसभन्दा अगाडि शिवरथ गाविसको सचिवको रुपमा काम गरिरहेका तारा प्रकाश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा नेपाली काँग्रेशका एकराज डिसी, नेकपा एमालेका लोक बहादुर डाँगी र एमाओवादीका भिम प्रकाश शर्मा लगायत स्थानियबासिको सहभागिता रहेको थियो ।स्थानिय विकास अधिकारी हरि प्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला विकास समितीका अधिकृत सुरेश अधिकारी गरेका थिए । आजदेखि नगरपालिकाको काम शुरु भएको बागचौरमा दशैं अगाडी नै इलाका प्रशासनको काम पनि थालिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन ।