काठमाडौँ, १९ असोज ।
३३ दलीय राष्ट्रिय मोर्चाले वर्तमान नयाँ संविधानको विषयमा असन्तुष्टि राख्ने पक्षको संयुक्त सहभागितामा अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिकसभाको आयोजना गर्न सरकारसँग माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक युवराज सफलले विवादित विषयमा सहमति गरी नयाँ संविधानलाई सबैको साझा संविधान बनाउन प्याकेजमै सबै विषय टुङ्ग्याएर मात्र संविधान संशोधन गर्न माग गर्नुभएको छ ।
भारतीय पक्षलाई रिझाउन सहमतीय तथा बहुमतीय सरकार निर्माणको कार्य थालिएकाप्रति मोर्चाले खेद प्रकट गर्दै अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिकसभाको आयोजना गरी सर्वमान्य संविधान बनाई सोही सभाबाट सर्वदलीय संयुक्त राष्ट्रिय सरकार गठन गर्न पनि मोर्चाले माग गरेको छ ।
मोर्चाले भारतले केही दिनदेखि गरेको अघोषित नाकाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नाकाबन्दी खुला गरी असल छिमेकीको व्यवहार गर्न भारतलाई आग्रह गरेको छ ।