जाजरकोट, १८ असोज ।
जाजरकोटको दुर्गम स्थानमा रहेको एक स्वास्थ्य चौकीमा सल्लीको दियालो बालेर प्रसूति सेवा सञ्चालन गर्न बाध्य भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्लाको भगवती गाविसमा रहेको स्वास्थ्य चौकीमा आवश्यक विद्युत् सुविधाको अभावमा यहाँका स्वास्थ्यकर्मीले सल्लीको दियालो बालेर दैनिक सेवा दिँदै आएको स्वास्थ्य चौकीका प्रमख तुलवहादुर नेवारले जानकारी दिनुभयो ।
दैनिक यहाँको स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन आउने धेरै भएपनि सल्लीको दियालो बालेर प्रसूति सेवा दिँदा निकै समस्या हुने गरेको नेवारको भनाइ छ ।
विद्युत् सेवा पनि नभएको र स्वास्थ्य चौकीमा सोलारसमेत नभएका कारण यस्तो सास्ती भोग्नु परेको हो । आगो बालेर उज्यालो गर्दा कहिलेकाँही स्वास्थ्यकर्मीको कपडासमेत जल्ने गरेका छन् ।
प्रसूति सेवा प्रवाहका लागि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको सामग्री पनि अपुग हुँदा दैनिक काम गर्न मुस्किल भएको स्वास्थ्यकर्मीले बताएका छन् । अहिले यहाँको स्वास्थ्य संस्थामा पानी चुहिने समस्यादेखि औषधिसमेत अभाव भएको छ ।
आफ्नो नाममा जग्गा नहुँदा सास्ती व्योहोर्दै आएको यो स्वास्थ्य चौकीले केही दिनअघि पैसा लिएर पनि जग्गा दत्र्ता भएन भनी राससले समाचार प्रकाशन गरेपछि अहिले जग्गा स्वास्थ्य चौकीको नाममा आएको छ ।
जिल्लाको अतिदुर्गम स्थानमा रहेको यो स्वास्थ्य चौकीमा जान र आउन मात्र सदरमुकामदेखि झण्डै पाँच दिनको पैदल यात्रा गर्नुपर्छ ।
केही दिनअघि त्यहाँ पुग्नुभएका प्रजिअ जर्नादन गौतमलाई स्वास्थ्य चौकीको समस्या बुझिदिन स्थानीय जनताले आग्रह गरेका थिए । यो स्वास्थ्य चौकीको व्यवस्थापन खर्च भनी आएको रु ४६ हजार व्यवस्थापन समितिका एक पूर्वपदाधिकारीले हिनामिना गरेपछि थप समस्या आएको बताइएको छ ।