मुस्ताङ, १८ असोज ।
उपल्लो मुस्ताङमा सञ्चालित करिब ४०० भन्दा बढी अवैध चिनियाँ मोटरसाइकललाई कानुनी प्रक्रियामा आउन तीन महिना समय थप गरिएको छ ।
सीमा प्रशासन कार्यालयले भदौ २२ गतेलाई अन्तिम मिति तोकेको भएपनि स्थानीयको मागलाई ध्यान दिँदै तीनमहिना समय थप गरिएको हो । सरकारी निगरानी नहुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ र घमी गाविसमा वर्षौदेखि अवैध मोटरसाइकल सञ्चालनमा रहेका छन् ।
उपल्लो मुस्ताङ र चिनियाँ व्यापारीबीच वर्षको दुईपटक आयोजना हुने व्यापारी मेलामा भन्सार शुल्क नतिरी स्थानीयले घोडा बेचेर मोटरसाइकल खरिद गरेका छन् । सीमा प्रशासन कार्यालय लोमान्थाङका प्रमुख कृष्णराज ढकालले मङ्सिर महिनासम्म ती मोटरसाइकललाई कानुनी दायरामा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।
अवैध रुपमा सञ्चालित मोटरसाइकल सदरमुकाम जोमसोमसम्म आउने गरेका छन् । विभिन्न किसिमका आपराधिक क्रियाकलापमा अवैध मोटरसाइकल प्रयोग हुनसक्ने भन्दै प्रशासनले त्यसलाई कानुनी प्रक्रियामा ल्याउने पहल थालेको बताइएको छ ।