काठमाडौं, १८ असोज ।
भारतले नाकाबन्दी खुलाउन मातहतका निकायलाई निर्देशन दिएको भनिए पनि आजसम्म पनि आयात निर्यात सहज हुन सकेको छैन । नेपालकै ठूलो वीरगञ्ज भन्सार नाका आज पनि ठप्प छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले त्यहाँ धर्ना जारी राखेका छन् ।
यसैबीच प्रहरीले बल प्रयोग गरि विराटनगर नाका अगाडी धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाएपछि आज बिहानैबाट जोगवनी नाका हुँदै मालवाहक ट्रकहरू नेपाल भित्रिन थालेका छन ।
बिगत १० दिनदेखी विराटनगर भन्सार कार्यालय को अगाडी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरू पाल टाँगेर दिनरात धर्ना बस्दै आएका थिए ।नाकामा प्रहरीले बल प्रयोग गरि प्रर्दशनकारीलाई हटाएपछि आज बिहानैवाट भारतीय क्षेत्रबाट सवारी साधन भित्रिने क्रम सुचारु भएको हो ।
हिजो नेपाल र भारतीय भन्सार अधिकारी, भन्सार एजेन्ट सहित सरोकारवालाबीच भएको सहमति पछि नाका सुचारु गर्ने निर्णय भएको थियो । हिजो र आज बिहान नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका साधन भने नरहेको भन्सार कार्यालयले जनाएको छ ।
गएराती १२ बजे प्रहरीले धर्नाकारीलाई भन्सार गेटबाट उठाउन खोज्दा प्रहरी र प्रर्दशसनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठीचार्जबाट आफ्ना केही कार्यकर्ता घाइते भएको मोर्चा सम्बद्ध नेताहरूले बताएका छन् ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिनुभयो । प्रहरीले धर्नास्थलवाट संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्धय भुराज राई र रामबिलास यादबलाई नियन्त्रणमा लिएको छ।