काठमाडौ १८ असोज ।
नजिकिदै गरेको दसैँमा घर जानको लागि अग्रिम टिकट बुकिङ नकुर्न यातायात व्यवसायीले आग्रह गरेका छन् ।
तराईका केही जिल्लामा लगातार भैरहेको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा अग्रिम टिकट बुकिङ खुल्ने या नखुल्नेबारे अन्यौल बढ्दै गएकाले टिकट नकुर्न व्यवसायीले आग्रह गरेका हुन् ।
इन्धनको आपूर्ति सहज भएमा तथा बन्द हड्ताल रोकिए मात्र अग्रिम टिकट बुकिङ खुलाउन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
महासंघका महासचिव सरोज सिटौलाले काम नभएका तथा परिवारसँगै गाउँ जान बसेकाहरुलाई अहिले नै जान आग्रह गर्नुभएको छ ।
पहिलेका वर्ष जस्तो यसवर्ष नयाँ गाडी थप्ने अवस्था पनि नरहेकोले अहिले नै गाउँ जान उपयुक्त हुने सिटौलाको सुझाव छ ।
गएका वर्षहरुमा एक महिना अघि नै टिकट खुलाउने गरिएकोमा यस वर्ष इन्धन अभाव र बन्दका कारण दसैँनजिकिदा पनि बुकिङ खुलेको छैन ।