आगामी असोज २० गते सांस्कृतिक नाच ‘लाखे महोत्सव’ को आयोजना गरिने भएको छ । कार्यक्रम इन्द्रायणी दापा खलःको आयोजनामा हुन लागेको हो । आइतबार मिडिया इन्टरनेशनलको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्द्रायणी दापा खलःले सो जानकारी गराएको हो ।
टोखा नगरपालिकाको ‘एक घर एक सम्पदा’ कार्यक्रमअन्तर्गत आगामी २० गते सो महोत्सव आयोजना गर्न लागिएको कार्यक्रमका अध्यक्ष सूर्यमान डंगोलले जानकारी गराए । काठमाडौं उपत्यकाको ‘उत्तरी प्रवेशद्वार’ का रुपमा समेत परिचित हालको टोखा नगरपालिका वडा नम्बर ३, ४, ५, र ६ अन्तर्गत रहेका ‘प्राचीन नगर’ समेत भनिने प्राचीन बस्तीका प्रत्येक घरबाट एक–एक वटा ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षण र प्रदर्शन गर्नका लागि सो कार्यक्रम सुरु गरिएको थियो ।
यसअघिका वर्षहरुमा पनि असोज २० गतेका दिन नै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिसकेको इन्द्रायणी दापा खलःले यस वर्षपनि टोखाको थःनेलाछिमा लाखे महोत्सव गर्न लागेको हो ।
महोत्सवमा काठमाडौं उपत्यका भित्र र बाहिरका समेत गरी तीसभन्दा बढी लाखे नाच सञ्चालक समूहहरुले भाग लिँदैछन् । सो दिन बिहानैदेखि टोखा पूरै बाजागाजा र लाखे नाचका कारण सांगीतिक र नृत्यमय हुनेछ । सहभागी मध्ये एक उत्कृष्ट समूहलाई आयोजकका तर्फबाट रु दश हजार नगद पुरस्कारका साथै सम्मान दिने कार्यक्रम रहेको अध्यक्ष डंगोलले बताए । त्यसैगरी अन्य सहभागीहरुलाई पनि हौसला र प्रोत्साहन प्रदान गर्ने बताइएको छ ।
भौगोलिक रुपमा सानै भएपनि प्राकृतिक, भौगोलिक साथै सांस्कृतिक विविधता नेपालका विशेषता भएकाले यहाँ संरक्षण र विकासको नीति बनाउँदा र कार्यान्वयनमा जाँदा आफ्नै विशेषता अनुरुप काम गर्नु पर्दछ भन्ने मान्यताका साथ सो कार्यक्रम गर्न लागिएको डंगोलले बताए । सम्पदा संरक्षण र विकास एकआपसमा पूरकका रुपमा अगाडि बढाएर विश्वका धेरै मुलुकले आफूलाई सम्पन्न तुल्याएका छन् । अध्यक्ष डंगोल भन्छन्, “नेपाली समाजमा पनि त्यसको राम्रो सम्भावना रहेको विगतमा धेरै विद्वान्हरुले औंल्याइसकेका छन् । यसलाई हामीले संरक्षण गर्नुपर्छ ।”
नेपालको सांस्कृतिक इतिहासमा लाखे नाचको विशिष्ट स्थान रहेको छ । वर्तमान समयमा लाखे नाच विश्वव्यापी रुपमा नै लोकप्रिय हुँदै आइरहेको छ ।