काठमाडौँ, १७ असोज । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या पछिल्लो समयमा उल्लेख्य रुपमा वृृद्धि भएको पाइएको छ ।
गत वर्ष चीनबाट एक लाख २५ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ७२ हजारले मात्र नेपाल भ्रमण गरेका थिए ।
चिनियाँ राष्ट्रिय पर्यटन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१४ मा सन् २०१२ को तुलनामा ४० प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको देखिन्छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सन् २०१६ मा हालको चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर बढाई दुई लाख ५० हजार पु¥याउने लक्ष्य प्रक्षेपण गरेको छ ।
नाट्टाका अध्यक्ष डिबी लिम्बूले चीन र भारत नेपालका लागि सम्भावित बजार भएकाले दुवै देशलाई प्राथमिकतामा राखी पर्यटक बढी भित्र्याउने योजना रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले बढी पर्यटक भित्र्याउनका लागि दुई देशबीच विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम ल्याइने बताउनुभयो ।
अध्यक्ष लिम्बूले नाट्टाले पछिल्लो समय विदेशी सञ्चार माध्यमका प्रतिनिधि र टूर अपरेटरलाई नेपालका पर्यटकीय स्थलको स्थलगत अवलोकन गराई उनीहरुप्रति सकारात्मक धारणा पैदा भएकाले आगामी दिनमा अन्य मुलुकका पर्यटकको आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सन् २०१४ मा चीनबाट १० करोड ७० लाख पर्यटक विश्व भ्रमणमा गएका थिए जसमध्ये ७० प्रतिशतले हङ्कङ र मकाउको मात्र भ्रमण गरेको विभिन्न आँकडाले देखाउँछ । बाँकी ३० प्रतिशत अर्थात् तीन करोड २० लाख चिनियाँ पर्यटकले विश्वका अन्य भू–भागको भ्रमणमा गएको पाइन्छ । सन् २०१५ मा यो २२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।
नाट्टाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सन् २०१५ सेप्टेम्बरको अन्तिम साताभरि पर्यटन पुनरुत्थानका लागि भए गरेका गतिविधि समेटिएको श्रब्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।
नाट्टाले अघिल्लो साता विभिन्न मुलुकका सञ्चार प्रतिनिधि तथा टुर अपरेटरलाई काठमाडौँ, चितवन तथा पोखराको परिचयात्मक भ्रमण आयोजना गरेको थियो ।