काठमाडौँ, १७ असोज ।
नेकपा एमालेको स्थायी कमिटीको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय गरेको छ ।
पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले सर्वसम्मत र औपचारिकरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अध्यक्ष ओलीलाई अघि सारेको हो ।
राष्ट्रपति डा रामवरण यादवबाट यही असोज १५ गते सातदिन भित्र सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपछि एमालेले सो निर्णय गरेको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई जानकारी दिनुभयो ।
अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग वार्ता र आवश्यक पहल गर्न अध्यक्ष ओलीकै संयोजकत्वमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी रहेको पाँच सदस्यीय टोली पनि गठन गरेको उहाँले बताउनुभयो ।