काठमाडौं, १७ असोज ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हर्टकेयर सेन्टर स्थापनाका लागि लायन्स अन्तर्राष्ट्रियबाट सहयोग प्राप्त भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ वान नेपालले करिब रु एक करोड सात लाख सहयोगका लागि स्वीकृति भइसकेको डिष्ट्रिक गभर्नर ध्रुव थापाले जानकारी दिनुभयो ।
लायन्स अन्तर्राष्ट्रियबाट पोखरामा हर्ट केयर सेन्टर स्थापनाका लागि सहयोग रकम स्वीकृति भइसकेको छ, उहाँले भन्नुभयो – “मुटुका रोगीहरुलाई पोखरामै राम्रो उपचार प्रदान गर्ने हाम्रो लक्ष्य पूरा हुँदैछ ।”
सेन्टर स्थापनाका लागि पोखरा उद्योग वाणिज्य सङ्घलगायत अन्य व्यवसायी तथा निजी क्षेत्र र सरकारी निकायसँग सहकार्य गरी छिट्टै काम सुरु हुने थापाले जानकारी दिनुभयो ।
सेन्टर स्थापनापछि पोखरा तथा आसपासका जिल्लाबाट धेरै मानिस लाभान्वित हुने छन् । अबको पाँच महिनाभित्रै पोखरामा मुटुको उपचार सेवा सुरु हुन्छ उहाँले भन्नुभयो – “लायन्सको यो अभियानमा धेरै सरोकारवाला निकायबाट सहयोग मिलिरहेको छ ।”
सेन्टर स्थापनाका लागि पोखरा उद्योग वाणिज्य सङ्घले बीउ पुँजीका रुपमा रु १५ लाख सहयोग गरिसकेको छ । पोखरामा हर्ट केयर सेन्टर अत्यावश्यक भएकाले आफूहरुले सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बताउनुभयो ।
सेन्टर स्थापनाका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भवन उपलब्ध गराइसकेकाले पहिलो चरणमा चारवटा बेडबाट मुटुको उपचार सुरु हुने बताइएको छ ।