काठमाण्डौ,१६ असोज ।
एकीकृत नेकपा माओवादी परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा जानुभएको छ ।
गोरखा क्षेत्र नं. १ बाट निर्वा्चित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका भट्टराई सांसद पद त्यागेको घोषणापछि मतदाता भेट्न गृह जिल्ला जानुभएको हो । भट्टराईले माओवादी र सांसद पद पनि त्यागेपछि उहाँलाई जिताएका मतदाता निराश देखिएका छन् । देश सङ्कटमा परेका बेला पार्टी छाड्ने काम गर्नु गलत भएको अधिकांशको टिप्पणी छ ।
एमाओवादी छाडेको अवस्थामा भावी कदम के उठाउने भन्नेबारे जिल्लावासीसँग राय, सल्लाह, सुझाव लिन भट्टराई गृह जिल्ला आएको बताइएको छ । पहिलेदेखि नै भट्टराई विचार समूहमा लागेको जिल्लास्तरीय नेताहरूको संयोजनमा भट्टराईले जिल्ला विकास समितिको सभाहलमा मतदाता, स्थानीयवासी, उद्योगी व्यवसायीसँग भेटघाट सुरु गरेका छन ।