काठमाडौं, १६ असोज ।
नेपाल भारतका दुईवटा सीमानाकाबाट आज ५९ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । अरु नाकामा कडाइ गरेको भारतले रुपन्देहीको बेलहिया नाकाबाट भने नेपाल आउने सामानको जाँचपास केही खुकुलो बनाएको बताइएको छ ।
आज बिहान ६ बजेदेखि साँढे ११ बजेसम्ममा बेलहिया नाकाबाट ५५ वटा गाडी नेपाल आएकोमा इन्धन बोकेका ५ वटा मात्र रहेको भण्सार कार्यालयले जनाएको छ ।
बेलहिया भन्सारका प्रमुख लावण्य ढकालका अनुसार हालसम्म २ बुलेट ग्यास, डिजेल बोकेका ५ वटा ट्याङकर नेपाल भित्रिएका छन् भने बाँकीमा छिट्टै बिग्रिने खालका सामान रहेका छन् ।
यस्तै अघिल्लो दिन केही खुकुलो रहेको नेपालगञ्जको जमुनाह नाकामा आज प्रदर्शनकारी धर्नामा बसेपछि सामान आयातमा समस्या भएको बताइएको छ । उक्त नाकाबाट हालसम्म जम्मा ४ वटा गाडी मात्र नेपाल भित्रिएका छन् । बाँकी नाकाहरुबाट भने आज एउटा पनि गाडी नेपाल भित्रिएका छैनन् ।
भारतको अघोषित नाकाबन्दी र तराईका विभिन्न जिल्लामा आन्दोलनरत पक्षको धर्नाका कारण सीमा नाकाबाट सामान आयात प्रभावित भएको हो । विराटनगर नाकामा प्रभावकारी पहल नभएका कारण सामान आयातमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच पेट्रोलियम पदार्थको हाहाकार भैरहेको बेला बिहान रुपन्देहीमा पेट्रोलियम पदार्थ सहितको एक ट्याङ्कर पल्टिँदा २ हजार लिटर पेट्रोलियम पदार्थ बाटोमा पोखिएको छ ।
आयल निगमको क्षेत्रीय कार्यालय भलबावारीबाट अर्घाखाँची जिल्लाका लागि पेट्रोलियम पदार्थ लिएर गइरहेको लु १ ख ४९ ८८ नम्बरको ट्याङ्कर रुपन्देहीको मणिग्रामस्थित सिद्धार्थ राजमार्गमा पल्टेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । ट्याङ्करमा १२ हजार लिटर पेट्रोल र डिजेल रहेको थियो ।