काठमाडौ १६ भदौ । नयाँ संविधानमा असन्तुष्टी जनाउदै तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाले आफूहरुसँग सरसल्लाह नै नगरी सरकार एकतर्फी रुपमा अघि बढेको भन्दै असन्तुष्टी जनाएको छ ।
आफूहरुको मुख्य माग प्रदेशको सिमांकनबारे सरकारले केही नभनिएको भन्दै मोर्चाले औपचारिक वार्ताको वातावरण अझै बन्न नसकेको प्रतिक्रिया दिएको छ ।
यस्तै मोर्चाले आज सरकारले गरेको तयारीबारे औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । मोर्चा आवद्ध दलहरुसँग आज छलफल गरेपछि औपचारिक धारण सार्वजनिक गर्ने मधेश केन्द्रित दल सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताउनुभयो ।
आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि भन्दै सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ ।
सरकारको निर्णय अपुरो र एकतर्फी रहेको सुमनले बताउनुभयो ।
सरकारले जनसंख्यका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन गर्ने तयारी गरेको छ ।