काठमाडौँ, १५ असोज । ललितपुरमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल अर्को विभागीय टोली नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा एपिएफले प्रहरीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै एपिएफ २० अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।
जारी लिगमा पहिलो स्थानमा झापा फुटबल क्लब, दोस्रो थ्रिस्टार क्लब र तेस्रोमा विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् । झापाको २४, थ्रिस्टारको २३ र आर्मीको २१ अङ्क छ ।
एपिएफको जितमा टोपबहादुर विष्टले दुई गोल गरे भने गणेश लावतीले एक गोल थपे । विष्टले खेल सुरुआती नौ मिनेटमा एक गोल गर्दै खाता खोले । उनले हेमन गुरुङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
त्यस्तै खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको एपिएफले खेलको दोस्रो हाफमा दुई गोल थप्यो । एपिएफका विष्टले खेलको ४७औँ मिनेटमा पुनः एक गोल थप्दै आर्मीको अग्रता दोब्बर बनाए ।
त्यस्तै खेलको ७६औँ मिनेटमा एपिएफका अर्का खेलाडी लावतीले एक गोल थप्दै आर्मीका लागि तेस्रो गोल गरे । प्रहरीले खेलको निर्धारित समयसम्म गोल गर्न निकै प्रयासरत रहे तापनि अन्ततः हार बेहोर्न प¥यो । हारसँगै प्रहरी १२ अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।