काठमाडौं, असोज १५/
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले प्रदान गर्ने ‘अन्तराष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०१५’ बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को नमेटिएका चित्रलाई प्रदान गरिने भएको छ ।
हरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार यो वर्ष नमेटिएका चित्र नियात्रा संस्मरणलाई प्रदान गरिन लागेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले जानकारी दिएको छ ।
पुरस्कारको राशी पन्ध्र सय यूएस डलर रहेको अनेसासले जनाएको छ । साथै यो पुरस्कार बाफत थप १०० डलर बराबरको आजिबन सदस्यता, सम्मान पत्र प्रदान गरिने छ ।
त्यस्तै अनेसासले यो पुस्तकलाई अंग्रेजी भाषामा अनुबाद तथा बिक्रि वितरणको पनि व्यवस्था गर्न लागेको जानकारी दिएको छ ।
पुरस्कार आगामी डिसेम्बर महिनामा अमेरिकाको राजधानी वासिङ्टनमा प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
साहित्यकार ‘किशोर’ कविता, निवन्ध, कथा र नियात्रा विधामा अत्यन्त प्रखर स्रष्टा हुन् ।
उनका हालसम्म आफन्तका अनुहारहरु, आँखाको खोजीमा, आलोकित आमा, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम जस्ता कविता संग्रहहरु र यात्राका प्रेमिल तरङ्गहरु, नमेटिएका चित्रहरु र मायालु हुम्ला जस्ता नियात्रा कृतिहरु प्रकाशित भईसकेका छन् ।
