नेपालमा भोकमरीको समस्या नआउने दाबी

नेपालमा भोकमरीको समस्या नआउने दाबी

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, १५ असोज ।

हरेक दिन भातको सट्टा एक छाक पीठोका परिकार खाने बानी नेपाली जनताको भइदिए नेपाललाई खाद्यन्न आयात गर्नु पर्ने स्थिति नै रहँदैन ।

आजभन्दा ३५ वर्षपहिले नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो तर आजभोलि नेपालले भारतबाट प्रतिमहिना दुई अर्ब रुपैयाँको चामल आयात गर्ने गरेको छ ।

यसो हुनुमा मुख्यतः नेपालीको खानेबानीमा परिवर्तन हुनु हो । कृषि सचिव उत्तमकुमार भट्टराईका अनुसार पीठोबाट रोटी, च्याँख्ला, पुवा लगायतको परिकार पहिले खाने प्रचलन थियो तर अहिले दुबै छाक भात खाने बानीका कारण चामलमाथिको निर्भरता बढेको हो ।

कृषि तथा जलस्रोत समितिले खाद्य सुरक्षाको वर्तमान स्थिति र खाद्य आपूर्तिको अवस्थाका विषयमा डाकेको बैठकमा कृषि विकास मन्त्रालयले खाद्यान्नको अभावबाट कोही कसैको अकालमा ज्यान नजाने बताएको छ ।

असोज ६ गतेदेखि नेपालमा भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि खाद्यान्न सञ्चितिको अवस्था के कस्तो छ भन्ने यथार्थ थाहापाउन समितिले बैठकको आयोजना गरेको सभापति गगन थापाले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा उपप्रधान तथा कृषिमन्त्री बामदेव गौतमले कुनै पनि भूपरिवेष्टित देशलाई शक्ति राष्ट्रले नाकाबन्दी लगाउनु अहिलेको युग सुहाउँदो नभएको बताउनुभयो ।

नेपालमा समयसमयमा हुने बाढीे, सुक्खा र असिनाबाट उत्पादनमा कमी हुन गई बेलाबखत खाद्यान्नको अभाव हुने गरेको छ । यद्यपि यस वर्षको असार महिनासम्म एक लाख ५५ हजार मेट्रिक टन खाद्यान्न बचत छ ।

भदौमा नेपालीले मकैबाली भित्र्याइसकेका छन् । असोज÷कात्तिकमा कोदो बाली भित्रिन्छ भने मङ्सिर महिना नेपालीको धान भित्र्याउने महिना हो । यसर्थ खानै नपाएर कोही नेपालीको मृत्यु हुने स्थिति भने छैन ।

उपभोगको अवस्था हेर्दा चामलको बढ्दो खपत र मकै र गहँुको खाद्यान्नका रुपमा प्रयोगमा नल्याइने भएका कारण बर्सेनि चामल आयात गर्नुपर्ने र गहुँ बचत हुने अवस्था छ ।

मुलुकभर चामल करिब २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन हुने र ३४ लाख मेट्रिक टन खपत हुने अनुमान छ । यस हिसाबले नेपालीलाई करिब आठ लाख ७३ हजार मेट्रिक टन चामल अपुग हुने देखिन्छ । मकै १२ लाख मेट्रिक टन उपलब्ध हुने तर खपत ११ लाख मेट्रिक टन हुने अनुमान छ । यसरी बचत भएको एक लाख मेट्रिक टन दाना बनाउन प्रयोग हुने गर्छ । गहँु करिब १४ लाख ५० हजार मेट्रिक टन उपलव्ध भई खपत भने पाँच लाख मेट्रिक टन हुँदा करिब नौ लाख ७१ हजार मेट्रिक टन गहुँको बचत हुन्छ । यसकारण खाने बानीमा परिवर्तन ल्याउने हो भने नेपालमा खाद्यान्नको अभाव नहुने निष्कर्ष निकालिएको हो ।

त्यसैगरी, सङ्कटको बेला वैकल्पिक रुपमा कोदो, जौ, फापरले समेत अनिकाल टार्न सकिने विशेषज्ञहरु बताउँछन  । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी