काठमाडौं, असोज १५ ।
संविधानसभाबाट संविधान जारी भएपछि व्यवस्थापिका संसद्को पहिलो अधिवेशन आजबाट शुरु भएको छ । बिधेयक अधिवेशनका रुपमा समेत परिचित हिउँदे अधिवेशनको पहिलो दिन आज सभामुख सुवास चन्द्र नेम्बाङले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हान सम्बन्धि पत्र पढेर सुनाउनुभएको थियो ।
संसदको अर्को बैठक साँझ ५ बजे बस्ने गरी स्थगीत गरीएको छ । संविधानसभा विघटन यता रुपान्तरित संसद्को पहिलो अधिवेशनले नयाँ सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्नेछ ।
संसद् सचिवालयले संसदको अन्तरिम नियमावली र नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने गरी आजै दोस्रो बैठक बस्ने गरी तयारी गरेको हो । आज साँझ बस्ने बैठकलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्नुहुने छ ।
संविधानको संक्रमणकालीन व्यवस्था अनुसार संसद अधिवेशन प्रारम्भ भएको ७ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्नु पर्ने प्रावधान रहेपनि प्रधानमन्त्री कोईरालाले आजै राजीनामा दिने सम्भावना भने कम छ । ७ दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्री चयन नभए संसदले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्नेछ ।
एमालेले आजै संसद बैठकबाट राजीनामाको घोषणा गर्न प्रधानमन्त्री कोइरालालाई दवाव दिदै आएको छ ।