काठमाडौ १५ असोज ।
गत असोज ३ गते जारी भएको नयाँ संविधानको दक्षिण कोरिया सरकारले स्वागत गरेको छ ।
उसले प्रेस विज्ञप्ति जारी गर्दै संविधान जारी भएको ऐतिहासिक अवसरले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, राजनैतिक स्थिरताका साथै नेपाललाई आर्थिक सम्पन्नता तथा राष्ट्रिय विकासको बाटोमा अघि बढाउन सहयोग पुर्याउने आशा समेत प्रकट गरेको छ ।
विज्ञप्तिमा नेपाल र कोरिया बीच सन् १९७४ मा कुटनैतिक सम्बन्ध स्थापना पश्चात विकसित मैत्रीपूर्ण सम्बन्धलाई कोरिया सरकारद्वारा उच्च महत्व दिइएको समेत जनाइएको छ ।
कोरियाली सरकारले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पुर्याउँदै आएको जनाउँदै विज्ञप्तिमा आगामी दिनमा पनि नेपालको विकास प्रक्रियामा नियमित रुपमा संलग्न भई द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहकार्य गर्ने समेत उल्लेख गरिएको छ ।
कोरिया सरकारले नयाँ संविधानको स्वागत गरेको जानकारी गत सेप्टेम्बर २२ तारिख नै फ्याक्स मार्फत सोलस्थित नेपाली दूतावासलाई पठाएको भए पनि दूतावासले सो जानकारी नेपाली सञ्चारकर्मीहरुलाई आज मात्र गराएको हो ।