वीरगन्ज, १४ असोज ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नबलकिशोर सिंह आज रिहा भएका छन् ।
सार्वजनिक अपराध मुद्दामा उनीहरुलाई कारागार पठाएको स्थानीय प्रशासनविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्दै आज जिल्ला अदालत बाराका जिल्ला न्यायाधीश भोजराज शर्माको इजालसबाट दुवै जनालाई रिहा गर्ने आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।
तराई मधेसमा जारी आन्दोलनका क्रममा उद्योग प्रतिष्ठानमा तोडफोड गरेको आरोपमा प्रहरीले बाराको नितनपुरवाट गएको भदौ २९ गते सहमहामन्त्री सोनल र जिल्ला अध्यक्ष सिंहलाई पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको थियो ।
सार्वजनिक अपराधको मुद्दा लागेका दुवैजनालाई जिल्ला प्रशासन कार्यालय बाराले प्रतिव्यक्ति रु एक लाख ४९ हजार ३७५ धरौटी मागेको थियो । धरौटी तीर्न नमानेपछि दुवै जनालाई असोज १० गते वीरगन्ज कारागारमा चलान गरिएको थियो ।
अधिकार क्षेत्र नाघेर प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारागार पठाएको भन्दै बार एसोसिएसन बाराका जिल्ला अध्यक्ष रामचन्द्र सिंहलगायतले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको थियो ।