काठमाण्डौ,१४ असोज ।
सभामुख सुवास चन्द्र नेम्वाङले नयाँ संविधान मधेसी दलसमेतको पसिनाको परिणामबाट बनेकाले यसलाई सहर्ष स्वीकार गर्न सबैसँग आग्रह गर्नुभएको छ । पोखरामा रिपोर्टस् क्लब नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
संविधानको ८० प्रतिशत काम पहिलो संविधानसभाले गरेको र त्यसमा मधेसवादी दलको पनि पूर्ण सहयोग रहेको स्मरण गराउँदै उहाँले अहिले पाँचवटा विषयमा असहमति जनाएर संविधानलाई नै अस्वीकार गर्न नहुने बताउनुभयो ।
पहिलो संविधानसभाको कामलाई स्वामित्व लिँदै नयाँ संविधान बनेको स्पष्ट पार्दै सभामुख नेम्वाङले वर्तमान संविधान प्रगतिशील, जनमैत्री र समावेशी भएको दावी गर्नुभयो । संविधान गतिशील र परिवर्तनशील हुने भएकाले असहमतिका बुँदालाई जनताका चाहना र भावनाबमोजिम संशोधन गर्दै लैजान सकिने उहाँको भनाइ थियो ।
सभामुख नेम्वाङले संविधानको कार्यान्वयनलाई सहज र सफल बनाउन दलबीचको एकता अभैm बलियो हुनु पर्नेमा पनि जोड दिनुभयो । उहाँले नयाँ संविधानको कार्यान्वयन भोलि शुक्रबारदेखि बस्ने व्यवस्थापिका–संसद्को पहिलो बैठकबाट सुरु हुने जानकारी पनि दिनुभयो ।