ललितपु्र, १४ असोज ।
ललितपुर ट्राफिक प्रहरीले अबदेखि कसैलाई तँ नभन्ने प्रतिबद्धता जनाएका छन् ।
चालक, सहचालक, यात्रु र पैदल यात्रीलाई राम्रो व्यवहार गर्न ट्राफिक प्रहरी प्रमुख जयबहादुर चन्दले निर्देशन दिएलगत्तै ट्राफिक प्रहरीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार ललितपुरमा भएको प्रशिक्षण कार्यक्रममा डिआईजी चन्दले व्यवहार सुधार्न निर्देशन दिनुभएको हो । पहिले आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिने चन्दले यसपटक ट्राफिक प्रहरी भएकै ठाउँमा पुगेर निर्देशन दिनुभएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयो ।
चन्दले उपत्यकाका सबै ट्राफिक प्रहरीलाई व्यवहार सुधार गर्न निर्देशन दिंदै हुनुहुन्छ । उहाँले सडकमा खटिंदा रीस नदेखाउन, गल्ती गर्नेलाई अपराधीजस्तो व्यवहार नगर्न, सवारी जाँच गर्दा पहिले नमस्कार गर्न, हाँसीहाँसी गल्ती औंल्याएर कार्वाही गर्न, कार्वाहीसँगै ट्राफिक जनचेतना पनि फैलाउन निर्देशन दिनुभयो ।