काठमाडौँ, १४ असोज ।
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने छ ।
राजधानी तथा बाहिरका जिल्लामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा आज एक खेल मा हुन लागेको हो ।
आर्मी र थ्रीस्टार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे आमनेसामने हुनेछ ।
थ्रीस्टार क्लबले जित हात पारे लिगको शीर्ष स्थानमा उक्लनेछ भने आर्मी विजयी भएमा लिगको दोस्रो स्थानमा उक्लने छ । खेल बराबरीमा रोकिए दुवै टोली यथास्थानमा रहनेछन् ।
एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा मोफसलको टोली झापा फुटबल क्लब रहेको छ ।
होम एन्ड अवेका आधारमा सञ्चालित उक्त प्रतियोगितामा झापा फुटबल क्लबले २४ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रहेको हो ।
झापाले जारी प्रतियोगितामा १३ खेल खेलिसकेको छ । त्यस्तै ११ खेल पूरा गरेको थ्रीस्टार क्लब भने लिगको दोस्रो स्थानमा छ ।
थ्रीस्टार २२ अङ्कका साथ लिगको दोस्रो स्थानमा रहेको हो । त्यसैगरी यसपटकको लिगमा निकै राम्रो खेल प्रदर्शन गरिरहेको त्रिभुवन आर्मी क्लब २० अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।
आर्मीले पनि समान ११ खेल पूरा खेलिसकेको छ । समान ११ खेल नै खेलिसकेको मनाङ मस्र्याङ्दी क्लब भने १९ अङ्कका साथ लिगको चौथो स्थानमा छ ।
सबैभन्दा कम १० खेल मात्र खेलेको सशस्त्र प्रहरी बल (एपिएफ) १७ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ भने सबैभन्दा बढी १४ खेल पूरा खेलिसकेको सुदूरपश्चिमाञ्चल फुटबल क्लब समान १७ अङ्कका साथ गोलअन्तरका आधारमा छैटौँ स्थानमा छ ।
यसपटकको लिगमा खराब प्रदर्शन गरिरहेको नेपाल प्रहरी क्लब भने १२ अङ्कका साथ सातौँ, मोफसल टोली लुम्बिनी फुटबल क्लब आठ अङ्क जोड्दै आठौँ स्थानमा छ भने मोरङ फुटबल क्लब ६ अङ्कका साथ लिगको पुछारमा स्थानमा छ । प्रहरीले १२ खेल खेलिसकेको छ भने लुम्बिनी र मोरङले समान १३ खेल खेलिसकेका छन् ।