काठमाण्डौ,१३ असोज ।
गत असारदेखि अवरुद्ध हुँदै आएको गोरखाको बारपाक सडकखण्ड आजदेखि सञ्चालन भएको छ ।
एक्सकाभेटरले गत भदौ २६ गतेदेखि बालुवा–बारपाक सडकखण्ड खुलाउन सुरु गरेको थियो । अहिले जिप, ट्र्याक्टर, साना फोरह्वील ट्रक बारपाक गाउँसम्म पुगेका छन । जिल्लास्थित सडक कार्यालयले अवरुद्ध सडक खुलाएको हो ।
बारपाक–४ का स्थानीयवासी तेजबहादुर घलेका अनुसार चार दिन लगाएर अवरुद्ध बाटो खुलाइएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दा गाउँसम्मको बाटो पनि खुलाउने तयारी गरिएको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्ने सडक अवरुद्ध भएपछि राहतका सामग्री ढुवानीमा समस्या हुँदै आएको थियो ।
त्यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलका टावरहरु पनि अवरुद्ध छन् । टेलिकमको बारपाकस्थित टावरमा जडान गरेको सोलार प्यानलले काम नगरेको र एनसेलको जेनेरेटरमा डिजेल नभएपछि टावर अवरुद्ध भएको हो ।