काठमाण्डौ,१३ असोज ।
अर्थमन्त्री डा. रामशरण महतले सरकारले चाँडै पुनःनिर्माणको नीति लिने बताउनुभएको छ ।
भुकम्पबाट प्रभावित नुवाकोटको क्षेत्रगत अध्ययन र पुनःनिर्माणको सन्दर्भमा आज राजधानीमा आयोजना गरीएको कार्यक्रममा अर्थमन्त्री महतले पुनःनिर्माणमा सबै निकायको सहयोग हुनु आवश्यक रहेको बताउनु भयो ।
उहाले व्यक्तिको चाहनाअनुसार घर निर्माण हुने भएकाले स्थानीय जन सहभागिता आवश्यक रहेको औल्याउनु भयो । बैशाख १२ गतेको भूकम्पले धेरै ठाउँ बस्न लायक नभएको भन्दै भवन विभागले बनाएको नक्साअनुसार नयाँ घरको निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पुनःनिर्माणका लागि प्रशस्त स्रोत साधन भएको भएपनि त्यसको प्रयोग हुन नसकेको बताउनु भयो । नेता महतले पुनःनिर्माण गर्दा एउटा गाउँमा एउटा नमुना बस्ती बनाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले त्यसलाई ध्यानमा राखेर पुनःनिर्माणमा लाग्न आग्रह गर्नुभयोे ।