कास्की, ११ असोज ।
उद्योगपति एव्म राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीले पार्टी परित्याग गर्नुभएको छ ।
पोखरामा पत्रकार सम्मेलन गरी उहाँले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
झन्डै तीन दशक लामो समयको राजनीतिक जीवनमा उहाँले पार्टीमा कोषाध्यक्ष र पार्टीका तर्फबाट पहिलो संविधानसभामा सभासद्को समेत जिम्मेवारी बहन गर्नुभएको थियो ।
राप्रपाको नीति प्रस्ट नभएको र मुलुकको स्थायित्वका खातिर पार्टीले भूमिका निर्वाह गर्न नसकेका कारण पार्टी परित्याग गर्नुपर्र्ने अवस्थामा आइपुगेको उहाँको भनाइ थियो ।
पार्टी छाडे पनि केही समयपछि पुनः राजनीतिक जीवनमा जोडिने उहाँको इच्छा छ । झन्डै पाँच÷छ महिनाअघि पनि उहाँले राप्रपाको नीति स्पष्ट नभएको भन्दै सार्वजनिक रुपमा पार्टीको आलोचना गर्नुभएको थियो ।