काठमाडौँ, १० असोज ।
आठ वर्षदेखि हुन नसकेको साझा प्रकाशनको साधारणसभा यही असोज १६ गते हुने भएको छ ।
साधारण सदस्य एक हजार ५५४ जना रहेको साझाको तेइसौँ साधारणसभाका लागि अंशियारबाट हुने तीन सञ्चालक पदको निर्वाचनसम्बन्धी कार्यक्रमसमेत सार्वजनिक गरिएको अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
साधारणसभामा गत साधारणसभाको निर्णय पढेर सुनाउने, अध्यक्षको प्रतिवेदन र संस्थाको विनियमबारे छलफल गर्नुका साथै तीन जना सञ्चालक निर्वाचन गरिनेछ । ‘प्रत्येक वर्ष हुनुपर्ने साधारणसभा आठ वर्षदेखि हुनसकिरहेको थिएन, त्यसैले २०७१ माघदेखि म यस संस्थामा प्रवेश गरेपछि व्यापक संस्थागत सुधारमा प्रयत्नरत छु, ।
साधारणसभामा आफ्नो अंशियार परिचयपत्र लिई उपस्थित हुनका लागिसमेत साझा प्रकाशनले आफ्ना शेयर होल्डरलाई सार्वजनिक आह्वान गरेको छ । निर्वाचनसम्बन्धी कार्यक्रमका लागि सञ्चालक तथा वरिष्ठ साहित्यकार प्रा डा कृष्णहरि बरालको संयोजकत्वमा एक समिति गठन भई निर्वाचन कार्यक्रम, निर्वाचन नियम, उम्मेदवारले पेस गर्ने मनोनयन फाराम तयार गरी सार्वजनिक गरेको छ ।
विगत केही वर्षदेखि संस्था अफ्ठ्यारो परिस्थितिमा गुज्रिरहेको अवस्थामा अंशियारका तर्फबाट सञ्चालकको निर्वाचनले संस्थाले आगामी दिनमा ठोस कार्यक्रमसहित अगाडि बढ्न सहयोग पुग्ने सर्वत्र आशा गरिएको छ ।