काठमाडौँ, ९ असोज ।
सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन ।
अत्यावश्यकीय सवारी साधन बाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाका अनुसार अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू गरिने छैन ।
यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरुपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ ।