काठमाण्डौ,९ असोज ।
संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आउनु भएका एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
उहाले अपरान्ह पत्रकार सम्मेलन गरी पाटीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधान घोषणा पछि एकीकृत माओवादीले आगामी दिनमा आफ्ना उद्धेश्य पुरा गर्न नसक्ने दावी गर्नुभयो ।
ससस्त्र द्वन्दका समय पार्टीले लिएको उद्धेश्य संविधान घोषणासँगै पुरा भएको बताउदै उहाँले आगामी कार्य्दिशाका लागि पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – ’पार्टी भनेको हतियार हो, साध्य हैन । त्यसैले पार्टी परित्याग गर्नु कुनै नौलो कुरा हैन ।’
आगामी दिनमा कुनै पार्टीमा आवद्ध नहुने बताउदै नेता भट्टराईले पुननिमार्ण , राष्ट्रिय स्वाधिनता र बिकास निर्माणमा केन्द्रित हुने उल्लेख गर्नुभयो । पार्टी परित्यागसँगै नेता भट्टराईले ब्यवस्थापिका संसदको सदस्य पद समेत त्यागेको घोषण गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई गोर्खा क्षेत्र नम्बर एक बाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै उहाँले अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा व्यक्त गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले सभासद पद त्यागेको बारे सभामुख सुवास नेम्बाङ्ग र पार्टी छाडेको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराईसकेको बताउनुभयो ।