काठमाण्डौ, ८ असोज ।
भारतले नेपालको तराईमा जारी अस्थिरता, आन्दोलन तथा प्रदर्शनका कारण विभिन्न नाकाबाट आयात निर्यातमा अवरोध श्रृजना भएको दावी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ती जारी गरी विभिन्न स्थानमा जारी प्रदर्शनका क्रममा हिंसा भएको भन्दै सामान ढुवानीकर्ता तथा मालवाहक सवारी साधनले नै पटकपटक गुनासो गरेका कारण आयात निर्यात असहज भएको जिकिर गरेको हो ।
नयाँ संबिधान जारी भएपछि भारतले तेस्रो पटक बिज्ञप्ति निकालेर तराइको आन्दोलनमा चासो देखाएको हो । तराई क्षेत्रमा जारी प्रदर्शन र त्यसले आयात निर्यातमा पार्नसक्ने असहजताबारे यसअघि नै आफ्नो तर्फबाट स्पष्ट पारि सकिएको विज्ञप्तीमा उल्लेख छ ।
४ दिनअघि निकालेको वक्तव्यमा भारतले सिमानाकामा अबरोध हुनसक्ने आसय व्यक्त गरेको थियो । नेपालमा भइरहेको प्रदर्शन राजनीतिक कारणले भएको भन्दै विदेश मन्त्रालयले नेतृत्वले समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । फरकमतलाई ग्रहण गर्दै समस्याको सर्वमान्य तरिकाले हल गरिनुपर्ने भन्दै विज्ञप्तीमा नेपालमा देखिएको असहजता तत्काल समाधान हुने विश्वास व्यक्त गरिएको छ ।