काठमाडौं, ८ असोज ।
इस्लाम धर्मावलम्बीको दोस्रो ठुलो पर्व बकर इद आजबाट सुरु भएको छ ।
बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले बोका र बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।
आज बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एक आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने बकर इदलाई राष्ट्रिय पर्वको मान्यता दिद सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहका नवि इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हजाराका गर्भबाट जन्मिएको छोरा इस्माईल अलि सलामलाई अल्लाहको आदेशमा कुरबानी दिन गएका थिए ।
तर अल्लाहले नवि इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न एवं खुशी भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माईलको ठाउँमा भेडा कुरबानी गरिएको थियो ।
इस्लाम धर्मावलम्बीको महान पर्व बकर इद अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना दिनुभएको छ । उहाले स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।