भीमदत्तनगर, ७ असोज ।
कञ्चनपुरमा विद्युत्भार कटौतीको विषयलाई लिएर आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनले आज बिहान विद्युत् कार्यालयमा तोडफोड गरेका छन् ।
विद्यार्थी सङ्गठनले कार्यालय समयमा कञ्चनपुरको भीमदत्तनगरस्थित विद्युत् कार्यालयका कार्यालय प्रमुख पुष्पराज पन्तको कार्यकक्षमा रहेका कुर्चीमा आगजनी गर्नुका साथै कार्यालयमा रहेका कम्प्युटर, टेलिफोन तथा फर्निचर तोडफोड गरेको विद्युत् कार्यालयले जनाएको छ ।
विद्यार्थीको तोडफोडको विरोधमा विद्युत् कार्यालयका कर्मचारीले कञ्चनपुरको विद्युत् सेवा नै ठप्प पारेका छन् ।
तोडफोडमा संलग्न व्यक्तिलाई कारबाहीको माग तथा कर्मचारीको सुरक्षाको माग गर्दै विद्युत् कार्यालयको एक टोली बिहान जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
“प्रमुख जिल्ला अधिकारीले तोडफोडमा उत्रिनेलाई कारबाही गर्ने आश्वासन दिनुभएको छ,” विद्युत् कार्यालयको रिडिङफाँट प्रमुख भवानी चन्दले भन्नुभयो – “हामी कारबाही नभएसम्म विद्युत् सेवा सञ्चालन गर्दैनौँ ।”
“चालीस÷पचास जनाको समूहमा आएका विद्यार्थी एक्कासि आएर तोडफोडमा उत्रिए”, उहाँले भन्नुभयो ।
कार्यालयमा रहेका सबै कर्मचारी सङ्घ सङ्गठनले तोडफोडमा संलग्नलाई पक्राउ गरी कारबाही नगरिएसम्म विद्युत् सञ्चालन नगर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सहसचिव नरेन्द्र कार्कीले केही दिनअघि विद्युत् कार्यालय र विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयन नभएकाले आफूहरु पुनः आन्दोलित भएको बताउनुभयो ।
दुई पक्षबीच भएको सहमतिअनुसार दैनिक पाँच घन्टा भइरहेको विद्युत्भार कटौती तीन घन्टामात्रै गर्ने, समिति गठन गरी विद्युत्को अवस्थाबारे अध्ययन गर्नेलगायतका सहमति भएका थिए ।