काठमाडौं , ६ असोज ।
नेकपा माओवादीले नेपाली जनतालाई संकट पार्ने गरी भारतले नाकाबन्दी गरेमा प्रतिरोध गर्ने बताएको छ ।
नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले नयाँ संविधान प्रति असन्तुष्ट भारतले सोही बाहनामा नाकाबन्दी गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको हो ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाली शासक वर्ग र नेपाली जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै नेपालमाथि प्रभुत्व मजबुत बनाउने तथा नेपालको अखण्डतामाथि माथि बाधा पुर्याउने उद्देश्यले भारतीय शासक वर्गको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ् ।
भारतको पछिल्लो गतिविधि उसको निर्लज्ज हस्तक्षेप भएको विप्लवको दाबी छ । विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि भारतले जनतालाई सङ्कट पार्नेगरी नाकाबन्दी गरेमा त्यसको प्रतिरोध गरिने जानकारी गर्दछौं ।’
संविधानले संसदवादीलाई संसदीय व्यवस्था संचालन गर्ने ठाउँमा र्पुयाएको तथा माओवादी र जनतालाई जनसत्ता निर्माण गर्ने वाध्यकारी ढोका खोलिदिएको विप्लवको ठोकुवा छ ।
शान्ति प्रक्रिया र शान्ति सम्झौतालाई व्यक्त गर्नसक्ने राजनीतिक सहमतिसहित राज्यलाई नयाँ बनाउने र माओवादीसहित राज्य सञ्चालन गर्ने प्रस्तावलाई पूरै अस्वीकार गरी जारी गरिएको संसदीय ब्यवस्थाको संविधानले संक्रमणलाई अन्त्य गरिदिएको विज्ञप्तीमा जनाइएको छ् ।
संसदीय व्यवस्थालाई २० वर्ष अगाडि नै नेपाली जनताले अस्वीकार गरिसकेको अवस्थामा देशी विदेशी तत्वहरुको साँठगाँठमा संसदीय व्यवस्था थोपर्ने कार्य गरिएको भन्दै महासचिव विप्लवले देशभक्त, सच्चा लोकतन्त्रवादी, प्रगतिशील जनवादी शक्तिहरुलाई एकताका लागि आहृवान समेत गनुभएको छ ।
