काठमाण्डौ,६ असोज ।
नेपालमा संविधान जारी भएलगत्तै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाएका छन ।
नेपाल भारत सीमा क्षेत्रअन्तर्गत कपिलवस्तुको कृष्णनगर, मर्जादपुर, चाकार चौडालगायतका सीमा नाकालाई भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ ।
उनीहरुले सीमा नाकामा मोटरसाइकल तथा अन्य ठूला सवारीसाधनको आवतजावतमा पूर्ण रोक लगाएका छन । सीमा नाकाबाट अति आवश्यक परेका दुवै देशका नागरिकलाई उच्च निगरानीका साथ पैदल आवतजावत मात्रै गर्न दिएका छन।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको कडाइका कारण भारतबाट दैनिकरुपमा नेपाल भित्रने दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, फलफूललगायतका सामान भित्रन सकेका छैनन । भारतीय पक्षले सीमा क्षेत्रमा गरेको यस्तो कडाइका कारण नेपालतर्फका कृष्णनगर, मर्जादपुर, चाकरचौडा सीमानाकामा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन ।
सीमा क्षेत्रमा गरिएको यस्तो कडाइ माथिको आदेशबाट गरिएको भारतीय सीमा सुरक्षा बल खुनुवाका इन्चार्ज प्रहरी नायब निरीक्षक शिवचरण शर्माले बताउनुभयो ।