काठमाडौं, ६ असोज ।
विपक्षी टिमका खेलाडीमाथि दुव्र्यवहार देखाएको भन्दै एफएले इंग्लिस क्लब चेल्सीका स्टाइकर डिएगो कोस्टामाथि तीन खेलको प्रतिबन्ध लागेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत तग शनिबार राति भएको खेलमा कोस्टाले आर्सनलका खेलाडी लरेन्ट कसिएल्नीमाथि हिंसात्मक व्यवहार गरेको तथा कोस्टा र आर्सनलका गेब्रियलबीच मैदानमै झगडा भएको थियो ।
एफएले यो घटनामा कोस्टासँग स्पष्टी करण मागेको थियो । कोस्टाले आरोप अस्वीकार गरेपनि एफएले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो ।
कोस्टाले खेलको ४३ औं मिनेटमा बल नियन्त्रणमा लिने क्रममा आर्सनलका खेलाडी कसिएल्नीलाई हातले धकेलेर भूइँमा लडाएका थिए ।
यो घटना रेफ्रिले नदेखे पनि भिडियो फुटेजमा देखिएको एफएले जनाएको छ । कोस्टाले अब लिग कप फुटबलमा आज हुने वालसलसँगको खेल तथा प्रिमियर लिगमा न्युक्यासल र साउथह्यामप्टन विरुद्धको खेल गुमाएका छन ।
शनिबार रातिको खेलमा कोस्टासँग झगडा गरेर रातो कार्ड पाएका आर्सनलका गेब्रियलमाथिको तीन खेलको प्रतिबन्ध भने हटाइएको छ ।