काठमाडौं, ६ असोज ।
भारतसँग जोडिएका सबै नाकाबाट सहजै सामान आयात भैरहेको सरकारले स्पष्ट पारेको छ ।
हिजो नै सबै नाकाबाट सहज रुपमा इन्धनसहित अरु सामग्री आयात भएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले बताउनुभयोे ।
उहाका अनुसार भन्सार नाकाबाट हिजो १२ वटा ग्यासका बुलेट र ६०÷६५ वटा ट्याङ्कर भित्रिएका छन् । काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, गौर, भैरहवा, नेपालगन्ज र धनगढी नाकाबाट निकासी र पैठारी भैरहेको छ ।
यस्तै हिजै बिहान कागजपत्र मिलाउने क्रममा केही नाकाबाट ढुवानीका गाडी भित्रिन केही समय लागेपनि कागजात मिलेपछि सामान्य रुपमा आयात भैरहेको विभागले जनाएको छ ।
सामान्य रुपमा अत्यावश्यक सामग्री भित्रिरहेकाले नआत्तिन र आवश्यक भन्दा धेरै स्टकमा नराख्न पनि सरकारले उपभोक्तासँग आग्रह गरेको छ ।
तर यता भारतीय सुरक्षा चासोका कारण नेपालमा बुधबारदेखि पेट्रलोलियम पदार्थ आपूर्ति असहज बनेको छ। रक्सौलस्थित भन्सार कार्यालयले अनावश्यक कागजात मागेर ट्यांकर रोक्दा आपूर्ति असहज भएको हो।
आपूर्ति मन्त्रालयका उच्च अधिकारीले सोमबार र मंगलबार नियमित र सहज तरिकाले तेल आउन नसकेको बताए । ’यसअघि जसरी रक्सौलबाट सहजै पेट्रोलियम पदार्थ आपूर्ति हुन्थ्यो, अहिले त्यो अवस्था छैन,’ मन्त्रालय स्रोतले भन्यो ।
यस्तै उपभोक्ताहरुले भने भारतीय पक्षले तेल बोकेका ट्यांकरलाई सीमानामा रोकेर हैरान पार्ने गरेको बताएका छन ।
ढुवानी व्यवसायीका अनुसार भारतीय अधिकारीले सम्पूर्ण कागजपत्र नभए ट्यांकर भारत नल्याउन निर्देशन दिएका छन ।