काठमाडौं, ६ असोज ।
१२ वर्षे जात्राको क्रममा रातो मच्छिन्द्रनाथको रथलाई भैसेपाटीबाट तानिदैछ । रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीका अनुसार आज रथलाई भैसेपाटी हुँदै नख्खु खोलामा तानिने छ ।
रथलाई पुलबाट नभएर खोलाबाट नै तानिनु पर्ने परम्परा रहेकाले खोलाबाट रथ तान्ने बेला नदीमा नाग प्रकट हुने र नदीमा पानीको सतह पनि बढ्ने जनविश्वास छ ।
नदीमा नाग प्रकट हुने भएकोले मौसम धुमिलो भएर मेघ गर्जनसहित पानी पर्ने समेत जनविश्वास रहिआएको छ ।
यसपाली १२ वर्षे रथ जात्रा भएकोले रथलाई बुंगमतीबाट तानेर पाटनको भित्री शहर परिक्रमा गरेर जावलाखेलमा भोटो देखाए पछि फेरि बुंगमतीमा नै रथ तानेर फर्कानेछ ।
बुंगमती पुगेपछि फेरि भोटोजात्रा हुनेछ । यसअघि गएको वैशाख ६ गते रथ बुंमतीमा मूर्तिलाई रथारोहण गरी वैशाख ९ गतेदेखि रथ जात्रा सुरु गरिएको थियो ।
तर वैशाख १२ को भूकम्पका कारण रोकिएको रथलाई शान्ति स्वस्ति पूजा सहित पछि छ्यासीकोटबाट तानेर अघि बढाउँदा रथ भत्किएकोले रथ फेरि बनाएर हिजोदेखि रथ तान्न सुरु भएको हो ।