काठमाडौँ, ५ असोज ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आदिवासी थारु समुदायले उठाएको राजनीतिक मागलाई सम्बोधन गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ ।
थारु सभासद् एवम् थारु नेताहरुसँग आज बिहान लाजिम्पाटमा भएको छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
छलफलमा सहभागी सभासद् सन्तकुमार थारुले आफूहरुले प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जानुअगावै समस्याको समाधान गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले आज साँझसम्म थारु सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । नयाँ संविधान जारी भइसकेको अवस्थामा कुनै न कुनै माध्यमबाट राजनीतिक समस्याको हल गरिने अध्यक्ष दाहालको भनाइ थियो ।