काठमाडौं, ५ असोज ।
भारतीय पक्षले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका पनि बन्द गराएको छ ।
भारतीय पक्षले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ ।
संविधान निर्माण प्रक्रियालाई लिएर बेखुसी देखिएको भारतले पट्रोलियम पदार्थ बोकेका नेपाली ट्यांकरलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले आज नेपाल प्रवेश गर्न नदिएको हो । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।
यसअघि भारतले सोमबार साँझ विज्ञप्ति जारी गर्दै तराईमा भएको आन्दोलन सुल्झाएन आग्रह गरेको थियो । साथै उसले सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत गरेको थियो ।
नेपाल आयल निगम उच्चस्रोतका अनुसार भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्यांकरलाई भन्सारबाट छुटाउन नमानेका हुन् ।
निगमका उच्च अधिकारीले भने माथिको निर्देशन भन्दै ट्यांकरहरु रोकेका छन् । भन्सारका अधिकारीले माथिल्लो निकायले निर्देशन दिए मात्र ट्यांकर छुट्ने जानकारी दिएका छन् ।
भारतमा रोकिएका ट्यांकरहरु छुटाउन आयल निगमका अधिकारी भन्सारमा पुगेका छन् ।