काठमाडौं, ४ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौम बनाएको बताउनु भएको छ ।
प्रमुख तीन दलले संविधान जारी भएको खुसियालीमा आज राजधानीमा गरेको विजयोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले संविधानप्रति कसैले पनि असन्तुष्टि जनाउनुपर्ने कारण नभएको भन्दै उनले कुनै कुरा छुटेका भए संशोधनमार्पmत् मिलाउन सकिने बताउनु भयो ।
संविधान प्रत्येक नेपालीको ऐना भएको भन्दै ओलीले पछाडि परेका समुदायहरुको अधिकारका लागि संविधानमै विभिन्न आयोगहरु गठनको व्यवस्था गरिएको बताउनु भयो ।
ओलीले नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता जोगाउँदै आफूहरुले दुबै छिमेकीलगायत सबै मित्र राष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहि बलियो सम्बन्ध राख्न चाहेको समेत स्पष्ट पार्नु भयो ।
आफूहरुले कुनै पनि छिमेकीको विरुद्ध जाने कुरा सोच्न नसक्ने भन्दै नेपालको प्राकृतिक स्रोत साधन मिलेर प्रयोग गर्न सकिने बताउनु भयो ।