काठमाडौ ४ असोज ।
अर्को वर्ष भारतमा हुने एएफसी अण्डर १६ च्याम्पियनसिपको फाइनलका लागि नेपाल छनोट भएको छ । छनोट समुहको अन्तिम खेलमा ओमनसँग पराजित भएपनि उत्कृष्ट उपविजेताको रुपमा नेपाल छनोट भएको हो ।
हिजो सम्पन्न अन्तिम खेलमा ओमानसँग ३÷१ ले पराजित भएपछि नेपालको समुह विजेता बन्ने सपना टुटेको थियो ।
तीन खेलबाट ६ अंक जोडेर उपविजेता बन्न सफल नेपाल प्रतियोगिताको नियम अनुसार उत्कृष्ट ४ उपविजेतामा पर्दै फाईनल चरणको लागि छानिएको हो ।
एसियाका ४५ राष्ट्रलाई ११ समुहमा विभाजन गरि छनोट प्रतियोगिता खेलाइएको थियो ।
समुह विजेता बन्दै उज्वेकिस्तान, ओमान, ईराक, साउदी अरेबिया, ईरान, कुवेत, मलेसिया, उत्तर कोरिया, दक्षिण कोरिया, अष्ट्रेलिया र जापान फाईनल चरणका लागि छानिएका छन् ।
यसैगरी उत्कृष्ट उपविजेताको रुपमा नेपाल सहित युएई, भियतनाम र थाईल्याण्ड पनि आगामी वर्ष भारतमा हुने एएफसी युथ सिक्सटिन च्याम्पियनसिप फुटबलको लागि छनोट भएका हुन् ।