रौतहट, ३ असोज ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आईतवार रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो ।
झडपको क्रममा मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गा लागी इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी जवान विर्ख तामाङ, योगेश खड्कालगायत पाँच प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।
यस्तै , मोर्चाका कार्यकर्ताले नेकपा (एमाले) का सभासद् धर्मनाथ साहको मिर्चैैयास्थित घरमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शनकारीले आफूहरुको अधिकार कटौती गर्न पार्टीको दास बनेको भन्दै मिर्चैया नगरपालिका–५ स्थित साहको घरमा दिउँसो मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेका थिए ।
त्यसअघि आजै मोर्चाका कार्यकर्ताले नेपाली काँग्रेस सिरहाका सभापति तथा सिरहा क्षेत्र नं ३ की सभासद् सीतादेवी यादवको सिरहा सदरमुकामस्थित घरमा समेत आगजनी गरेका थिए ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादवको नेतृत्वमा सिरहा सदरमुकाममा आयोजित मौन जुलुसका सहभागीले सभासद् यादवको घरमा आगजनी गरेका हुन् ।
आगजनीबाट सभासद् यादवको घरको आगनमा राखिएको बि आर १ एपी ३९ ४६ नम्बरको जिप, स १ प ७९ ८० नम्बर र अर्र्को नम्बर खुल्न नसकेको मोटरसाइकल तथा प्रतीक्षालय पूर्णरुपमा नष्ट भएको छ ।
सभासद् यादवले रुँदै आफ्नो घरको सुरक्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको भएपनि प्रहरी नपठाउँदा घटना भएको भनी दुःख व्यक्त गर्नुभयो ।
मोर्चाका कार्यकर्ताले मौन जुलुस प्रदर्शनकै बेलामा सभासद् यादवको घरमा ढुङ्गामुढा गरेको र जुलुसबाट फर्किने क्रममा पुनः ढुङ्गामुढासहित आगजनी गरेको प्रत्यक्षदर्शी धनेश्वर यादवले बताउनुभयो ।
आन्दोलनकारीले बैठक कक्षमा बसिरहेका सभासद्का छोरा तथा काँग्रेसका महाधिवेशन प्रतिनिधि डा सुभाषचन्द्र यादवलगायतमाथि हातपात गर्दै लखेटेको बताइएको छ ।