वीरगन्ज, ३ असोज ।
वीरगन्जमा प्रहरीले प्रहार गरेको गोली लागेर मैनपुर गाविसका–३२ वर्षीय शत्रुधन पटेलको मृत्यु भएको छ भने अन्य दुईको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाको अवज्ञा गर्दै प्रदर्शनकारीले निकालेको जुलुसका क्रममा झडप भई स्थिति नियन्त्रणमा लिन माइस्थानदेखि गीतामन्दिर जाने बाटोमा आज दिउ“सो सुरक्षाकर्मीले चलाएको गोलीबाट घाइते भएका पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पटेलको टाउकोमा गोली लागेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ ।
त्यस्तै, प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर दुई जनाको अवस्था गम्भीर बनेको बताइएको छ । प्रहरीको लाठी प्रहारबाट केही व्यक्ति घाइते भएको सुरक्षा स्रोतले जनाएको छ ।
प्रहरीको गोली लागेर गम्भीर भएका पर्सा रानीघाटका मुन्सी पटेल र सिर्सियाका विजय यादवको यहाँँ उपचार हुन नसकेपछि थप उपचारका लागि दुबैलाई हेलिकप्टरबाट काठमाडौँतर्फ लगिएको संयुक्त मधेसी मोर्चा पर्साले जनाएको छ । बाँकी घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दिउ“सो ३ः०० बजेसम्म केही राउण्ड हवाई फायर र दर्जनौँ राउन्ड आश्रु ग्यास प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ ।
आज जारी हुन लागेको संविधानप्रति असन्तुष्टि जनाउ“दै मधेस केन्द्रित राजनीतिक दलका कार्यकर्ताले आज दिउ“सोदेखि नै नगवा, बिर्ता, माईस्थान, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक, रानीघाट र गण्डकलगायत सहरका विभिन्न भागमा प्रदर्शन गर्न खोजेपछि सुरक्षाकर्मीसँग पटकपटक झडप भएका छन् ।
अहिले स्थिति नियन्त्रणमा लिन वीरगन्ज क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । अराजक स्थिति आउन नदिन र स्थितिलाई नियन्त्रणभन्दा बाहिर जान नदिन आवश्यक सम्पूर्ण उपाय अवलम्बन गरिएको पर्साका प्रजिअ केशवराज घिमिरेले बताउनुभएको छ ।