गौशाला, ३ असोज ।
नेपालमा नयाँ संविधान जारी हुने समयमा अप्रिय घटना घट्न सक्ने भन्दै महोत्तरीको सीमा नाकामा नेपाल र भारतका सुरक्षाकर्मीले कडा जाँच सुरु गरेका छन् ।
विगत ३७ दिनदेखि तराईमा भइरहेको मधेस आन्दोलनलाई मध्यनजर गर्दैै महोत्तरी जिल्लाको भारतसँग सीमा जोडिएका १३ वटा गाविसका विभिन्न स्थानमा दुवै देशका सुरक्षाकर्मीहरुले आ–आफ्नो क्षेत्रमा कडा सुरक्षा अपनाउँदै जाँच सुरु गरेको हो ।
आज साँझ नेपालमा नयाँ संविधान जारी हुन लागेका बेला सीमा नाकामा कुनै अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यले नाकामा कडाई गरिएको जनाईएको छ ।
सीमा वारपार गर्ने व्यक्तिहरुमाथि पनि कडा निगरानी बढाइएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो । उहाँको अनुसार नेपालको सीमातर्फ कुनै अवाञ्छित गतिविधि नहोस् भन्दै भारतमा भारतीय सीमा सुरक्षा बलले र नेपालमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले हरेक यात्रुसँग सोधपुछ गर्दै आउजाउ गर्न दिएको छ ।
साथै नेपालमा अवाञ्छित गतिविधि गर्ने र गराउने उद्देश्यले आउजाउ गर्ने माथि कडा निगरानी बढाइएको छ ।
त्यस्तै भारतीय सुरक्षाकर्मीले पनि महोत्तरीका विभिन्न नाकामा सुरक्षा स्थितिलाई ध्यानमा राखी सीमामा रहेका प्रहरी चौकीमा पनि हाई एलर्ट जारी गरेको जनाइएको छ ।
नेपाली सुरक्षाकर्मीले भारतको विहारको मधुवनी र सीतामढी जिल्लासँग सीमा जोडिएको दक्षिणी क्षेत्रका मुख्य प्रवेश नाका महोत्तरीको मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, बथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुरलगायत १३ गाविसका सीमावर्ती क्षेत्रमा सीमा वारपार गर्ने समूहमा हुन सक्ने घुसपैठलाई रोक्नका लागि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।