धान आयातमा भन्सार दर न्यून गर्न माग

धान आयातमा भन्सार दर न्यून गर्न माग

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

वीरगन्ज, २ असोज । आयातित भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् ।

स्वदेशी चामल उद्योगको संरक्षणका लागि धान आयातमा लाग्ने भन्सार दर न्यून गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी व्यवसायीको छ ।

स्वदेशी चामल उद्योगलाई संरक्षण गर्ने हो भने धान आयातमा लाग्दै आएको कृषि सेवा शुल्कलाई पाँच प्रतिशतबाट झारेर सकेसम्म शून्य दर कायम गर्नुपर्ने हुन्छ । यहाँका अधिकांश चामल उद्योग भारतीय धानमाथि निर्भर रहेका छन् ।

स्वदेशी धानको उत्पादनले यहाँका चामल उद्योगहरू मुस्किलले चार पाँच महिनामात्र सञ्चालनमा ल्याउन सकिन्छ । स्वदेशी धान अभावका कारण बाध्य भएर नेपाली चामल उद्योगहरूले भारतीय धानमाथि निर्भर रहनुपरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले बताउनुभयो ।

भारतमा धान सस्तो मूल्यमा पाइने र त्यहाँ उत्पादन लागतसमेत सस्तो भएकाले आयातित भारतीय चामलसँग यहाँका चामल व्यवसायीले प्रतिस्पर्धा गर्न सक्दैन । धानमा लिएको भन्सार दरबन्दीका कारण भारतीय बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ ।

उत्पादन लागत बढ्दा सस्तोमा आएका भारतीय चामलसँग प्रतिस्पर्धा गर्न सकिदैन । त्यसैले धानको आयातमा लाग्ने भन्सार दर सके शून्यमा, नसके कम्तीमा दुईदेखि तीन प्रतिशत कायम गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

नेपाली चामल उद्योगलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरू जोड दिन्छन् । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पाँच प्रतिशत कृषि सेवा शुल्क लिइने गर्दछ ।

हामीले यस वर्ष कम्तीमा चामलको आयातमा लाग्ने आठ प्रतिशत शुल्कबाट बढाएर १० प्रतिशत र धानको आयातमा लाग्ने पाँच प्रतिशतबाट घटाएर शून्य वा कम्तीमा दुई प्रतिशत कायम गर्नुपर्ने माग सरकारसँग गरेका थियौँ, मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका उपाध्यक्ष गुप्ताले भन्नुभयो – तर सरकारले हाम्रो माग सुनेन, फलस्वरुप भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा र पर्सामा रहेका चामल उद्योग सङ्कटमा परेका छन् ।

पाँच वर्षअघिसम्म बारा र पर्सामा करिब साढे तीन सयको हाराहारीमा रहेको चामल उद्योगमध्ये झन्डै तीन सयको हाराहारीमा बन्द भइसकेका छन् । अहिले ५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधा सङ्कटग्रस्त रहेको चामल उद्योग सञ्चालक बताउँछन् ।

भारतले सार्क मुलुकमा बास्मतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेप्टेम्बर ९ वाट फुकुवा गरेपछि तयारी चामल र धान ठूलो परिमाणमा आयात हुन थालेको हो । भारतको विहार मात्र नभई उत्तर प्रदेशका उद्योगका चामलसमेत आयात भइरहेको दाबी चामल उद्योगीको छ ।

स्वदेशमै उत्पादित धानले यहाँका चामल मिलको वार्षिक कुल मागको ७० प्रतिशत धान्न सक्ने अवस्था रहेकामा यहाँको किसानको ढाड सेक्ने गरी भारतबाट चामल र धान दुवै आयात गरिएको चामल उद्योगी अनिरुद्धप्रसाद गुप्ताले बताउनुभयो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा यो नाका भएर भारतबाट रु पाँच अर्ब ७४ करोड मूल्य बराबरको २१ करोड छ लाख किलो धान आयात भएको थियो । हामीले कुनै समय भारतमा चामल निर्यात गर्ने गरेका थियौँ, उद्योगी गुप्ताले भन्नुभयो – भारतबाट तयारी चामल होइन, यहाँको माग धान्न नसक्ने वार्षिक मागको ३० प्रतिशत मात्र धान आयात हुनुपर्दछ ।

स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा भारतीय चामल उद्योगलाई प्रोत्साहन गर्ने खालको भन्सार नीति देखिएको छ, अर्का चामल उद्योग सञ्चालक तथा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गणेश लाठले भन्नुभयो – धान र चामलको भन्सार मूल्याङ्कन व्यावहारिक र वैज्ञानिक हुनुपर्दछ ।

स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने माग गत वर्षदेखि नै उठाउँदै आएको भए पनि यस वर्षको बजेटमा समेत त्यसलाई सम्बोधन नगरिएकाले उहाँले दुःख व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी